फिल्म । निर्माता रोहित अधिकारीले आफ्नो फिल्मबारे सामाजिक सञ्जालमा नकारात्मक, असभ्य र अभद्र टिप्पणी गर्नेहरू विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । मंगलबार साइबर ब्युरो पुगेर उनले असभ्य फेसबुक प्रयोगकर्ताहरूविरुद्ध निवेदन दर्ता गराएका हुन् । फेसबुक आइडीको स्क्रिनसटको फोटोकपीसहित २०/२२ जना प्रयोगकर्ताविरुद्ध निवेदन दिएको उनले जानकारी दिए ।
उनले भने, ‘सामाजिक सञ्जालमा गाली गरिएपछि जाहेरी दिन बाध्य भएको हुँ । ‘माइतीघर’लाई क्षति पुग्ने गरी सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गरिएपछि म चुप बस्न सकिन ।’
साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले निवेदन दर्ता भएको पुष्टि गरेका छन् । दसैंमा रिलिज हुने फिल्महरूबीच सामाजिक सञ्जालमा तनावदसैंमा रिलिज हुने फिल्महरूको प्रदर्शन मिति नजिकिँदै गर्दा सामाजिक सञ्जालमा फिल्म निर्माता र समर्थकहरूबीच आरोप-प्रत्यारोपको स्थिति देखिएको छ । विशेषगरी ‘बलिदान’का निर्माता तथा निर्देशक सन्तोष सेन र ‘माइतीघर’का निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमा एकअर्काप्रति आक्रोशपूर्ण अभिव्यक्ति व्यक्त गरिरहेका छन् ।
यसैबीच, अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि फिल्मलाई लिएर हुने नकारात्मक टिप्पणीबारे सामाजिक सञ्जालमा स्टाटस लेखेपछि यो विवादले झन् उग्र रुप लिएको छ । उनको स्टाटसपछि गिरी र सन्तोष सेनबीच पनि आरोप-प्रत्यारोपको शृंखला चलेको छ ।








