कस्तो छ ‘वार २’ को व्यापार ?

फिल्म । भारतीय फिल्म ‘वार २’ ले मंगलबारसम्म भारतमा २ सय २० करोड भारू ग्रस कमाइ गरेको छ । ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी अभिनीत यो फिल्म यशराज फिल्म्सको ब्यानरमा अयान मुखर्जीले निर्देशन गरेका हुन् । यद्यपि, भारतीय सञ्चारमाध्यमहरूले फिल्मको यो कमाइलाई निराशाजनक मानेका छन् ।

फिल्मले पहिलो दिन बिहीबार ५९ करोड ग्रस कमाइ गरेको थियो । शुक्रबार स्वतन्त्रता दिवसको छुट्टीको फाइदा उठाउँदै ६७ करोड कमाएको फिल्मले शनिबार ३८ करोड र आइतबार ३६ करोड कमाइ गर्‍यो । तर, सोमबार कमाइमा भारी गिरावट आउँदै ९ करोड ५० लाख र मंगलबार १० करोड ५० लाखमा सीमित भयो ।

३ सय २५ करोडको ठूलो बजेटमा बनेको ‘वार २’ ले सुरुवाती सप्ताहन्तमा राम्रो व्यापार गरे पनि त्यसपछिका दिनहरूमा दर्शकको आकर्षण कायम राख्न नसकेको देखिन्छ । सञ्चारमाध्यमहरूका अनुसार, यो फिल्मले लगानी उठाउन पनि संघर्ष गर्नुपर्ने अवस्था देखिएको छ । यशराजको स्पाइ युनिभर्सको छैटौं कडीको रूपमा आएको यो फिल्मलाई समीक्षकहरूले समेत मिश्रित प्रतिक्रिया दिएका छन् । फिल्ममा ऋतिक रोशन र जुनियर एनटीआरको अभिनय, एक्सन दृश्य र सिनेमाटोग्राफीको प्रशंसा भए पनि कथावस्तु र सम्पादनमा कमजोरी रहेको आलोचना भएको छ ।

कमेन्ट गर्नुहोस्