फिल्म । आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रिमै’को प्रचारमा निर्माण टोली जुटेको छ । गत शनिबार ३१औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित र्यालीमा ‘रिमै’ टोलीको उल्लेखनीय सहभागिता रह्यो । आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकार संरक्षणका लागि आयोजित र्यालीमा विभिन्न संघ-संस्था, कलाकार, सांस्कृतिक टोली र सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।
रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्यालीमा ‘रिमै’ टोलीले ब्यानर, प्लेकार्ड र फिल्मको नाम अंकित पोस्टरसहित परम्परागत धुनमा नाचगान गर्दै दर्शकलाई आकर्षित गर्यो । निर्माण टोली, कलाकार र निर्देशक आदिवासी समुदायको मौलिक पहिचान र संस्कृति जगेर्ना गर्ने सन्देशसहित र्यालीमा सहभागी थिए ।
निर्देशक खिलबहादुर गुरुङले फिल्ममार्फत आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई दर्शकमाझ प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘रिमै’ टोलीले विश्व आदिवासी दिवसलाई उत्सव मात्र नभई अधिकार, समानता र सांस्कृतिक सम्मानको संघर्षको प्रतीकका रूपमा लिएको बतायो । र्यालीमा सहभागी दर्शकले टोलीको पहिचानमूलक उपस्थितिको प्रशंसा गर्दै फिल्मप्रति उत्साह व्यक्त गरे ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ, बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय छ । उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका छन् ।
वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता छन् । दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।











