दर्शकको रोजाईमा पर्दै माग्नेको ‘राजा’ अवतार

फिल्म । नेपाली फिल्म ‘माग्ने राजा’को गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक भएसँगै दर्शकले माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ स्वरूपमा देखिएका छन् । टेलीफिल्ममा माग्नेको भूमिकामा रुचाइएका कलाकार घिमिरे यसपटक भिन्न अवतारमा प्रस्तुत छन् । निर्देशक ऋषि लामिछानेले फिल्मको कथा गीतको फेन्टासी वरिपरि घुमेको र माग्ने बुढाको नयाँ अवतार फिल्मको केन्द्रमा रहेको बताए ।

‘टिजर र लोकगीतमा केदारलाई पुरानै छविमा प्रस्तुत गरेका थियौँ, जसले कतिपय दर्शकलाई फिल्म पुरानै शैलीको हो कि भन्ने शंका थियो तर यो गीतसँगै हामी फिल्मको मुख्य मुद्दामा प्रवेश गरेका छौँ । दर्शकले केदारलाई बिल्कुल नयाँ अवतारमा देख्नेछन्’, निर्देशक लामिछानेले भने ।

यद्यपि, उनले फिल्मले कमेडी शैली नछाडेको स्पष्ट गरे।निर्माता मुनाल घिमिरेले फिल्मले हाँसोसँगै समसामयिक मुद्दालाई पनि समेट्ने प्रयास गरेको बताए । ‘हाँसो भन्दैमा सस्ता जोक छैनन् । हँसाउँदा-हँसाउँदै देशका समस्या र नागरिकका रूपमा समाधान पनि सुझाएका छौँ’, उनले भने ।

निर्माण घोषणादेखि चर्चामा रहेको ‘माग्ने राजा’ भदौ ६ मा प्रदर्शन हुँदैछ । आक्रामक प्रचारमा उत्रिएको फिल्मले हालसम्म दुई गीत र टिजर सार्वजनिक गरिसकेको छ ।

मुनाल घिमिरेको निर्माणमा बनेको फिल्ममा केदार घिमिरे, विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल लगायतको अभिनय छ । नरेन्द्र मैनालीको छायांकन, मित्र गुरुङको सम्पादन, दीपक शर्मा र बाबुल गिरीको संगीत र सामीप्यराज तिमल्सेनाको कथामा फिल्म तयार भएको हो ।

कमेन्ट गर्नुहोस्