फिल्म । फिल्म ‘गुन्यु चालो: द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ निर्माण टिमले एक विशेष कार्यक्रममार्फत आज सार्वजनिक गरेको छ । लेखु सहयात्रीको शब्द र संगीतमा बनेको यो गीतमा मनिषा पोखरेलको स्वर छ । गीतले प्रेमिल मन र माया गर्ने चाहनालाई व्यक्त गरेको छ । गीतमा आफूलाई माया गर्ने हो भने चोखो मनले माया गर्न र माया साँचो भएको प्रमाण दिन आग्रह गरिएको छ । जोवन सुम्पिन तयार रहेको भन्दै मुटुमा सजाउन अनुरोध गरिएको गीतको भिडियोमा नाजिर हुसेनको आकर्षक नृत्य छ ।
उनले पारालैंगिक महिलाको भेषमा गज्जबको अभिनय र नृत्य प्रस्तुत गरेका छन्, जसमा गेस्चर र पोस्चरमा विशेष मेहनत देखिन्छ । भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ । निर्माण टिमले फिल्मको रिलिज मिति पनि घोषणा गरेको छ । ‘गुन्यु चालो: द ड्रेस’ भदौ १३, २०८२ मा रिलिज हुनेछ । समुन्द्र भट्टको निर्देशनमा बनेको यो फिल्म लैंगिक अल्पसंख्यक (पारालैंगिक) पात्रको कथामा आधारित छ ।
फिल्ममा नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन) को मुख्य भूमिका निर्वाह गरेका छन् । उनको साथमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले महत्वपूर्ण भूमिका निभाएका छन् । नेपालको पहिलो पूर्णरूपमा ट्रान्स कथामा आधारित यो फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले खरिद गरेको छ ।
फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन हलिउड शैलीमा विदेशमा गरिएको छ । सम्पादन, रङ संयोजन, मिक्सिङ, साउन्ड डिजाइन र ब्याकग्राउन्ड म्युजिकको काम हलिउडमा सम्पन्न भएको हो । हलिउडकी कलाकार लिजा जेरार्डले फिल्ममा स्वर दिएकी छन्, जसले ‘ग्ल्याडिएटर–२’ मा पनि स्वर दिएकी थिइन् ।
ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले तयार गरेका छन् । यो फिल्म नेपाली र हलिउड फिल्म प्रोडक्सन हाउसको सहकार्यमा बनेको हो । फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सहयोगी निर्माता हुन् । आलोक शुक्लाद्वारा खिचिएको यो फिल्म अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।











