फिल्म । विश्वकै पहिलो कृषि रियालिटी गेम शो ‘र: रिभोलुशनरी एग्रीकल्चर वार’ ले राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते गोदावरीको लेलेमा आयोजित धान रोपाइँ उत्सव र दही चिउरा खाने कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा महानायक राजेश हमालको विशेष उपस्थितिले उत्साह थपेको थियो ।
गोदावरी नगरपालिका कृषि शाखा र मुक्तिनाथ कृषि कम्पनी लि.को सहकार्यमा आयोजित कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरत राज ढकाल, इसिमोडका डा. टाशी शेर्पा, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, वडा नं. १० का अध्यक्ष शेखर न्यौपाने, कार्यपालिका सदस्य उमा महतलगायत विभिन्न सङ्घ-संस्थाका प्रतिनिधि, पत्रकार, स्थानीय बुद्धिजीवी, समाजसेवी र नागरिकहरूको बाक्लो सहभागिता थियो। धिमे बाजा, असारे गीत र स्थानीय संस्कृति झल्काउने नृत्यले कार्यक्रमलाई जीवन्त बनाएको थियो।
‘र’ का परिकल्पनाकार तथा निर्देशक शैलेश कँडेल क्षेत्रीले कार्यक्रमबारे बोल्दै किसानलाई सेलिब्रेटी बनाउने र कृषिलाई सम्मानित पेसाको रूपमा स्थापित गर्ने उद्देश्यले यो रियालिटी शो सञ्चालन गरिएको बताउनुभयो। “हामी प्रत्येक वर्ष असार १५ मा देशका विभिन्न स्थानमा धान दिवस मनाएर मनोरञ्जनमार्फत कृषिप्रति जागरण फैलाउने लक्ष्यमा छौँ,” उनले भन्नुभयो।
महानायक राजेश हमालले कार्यक्रममा आफ्नो पृष्ठभूमि र कृषिको महत्व बिर्सिंदै गएकोमा चिन्ता व्यक्त गर्दै युवा पलायन र खाद्यान्नमा परनिर्भरताको जोखिमबारे चर्चा गर्नुभयो। रोपाइँ, टग अफ वारलगायतका गतिविधिमा सहभागी हुँदै उनले सबैको हौसला बढाउनुभयो।
मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरत राज ढकालले युवालाई कृषिमा आकर्षित गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै परम्परागत कृषिलाई प्रविधिमार्फत उकास्नुपर्नेमा जोड दिनुभयो। कम्पनीको प्राविधिक टोलीले ड्रोनमार्फत तरल मल छर्ने प्रविधिको प्रदर्शन गरेको थियो।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कृषि र पशुपन्छी विकासमार्फत देश विकासमा योगदान पुर्याउन नगरपालिकाले विशेष पहल गरिरहेको र आगामी आर्थिक वर्षमा थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गत वर्ष खोकनामा आयोजित कार्यक्रममा ‘र’ को आवेदन खुला गरिएको थियो, जसमा ७७ जिल्लाबाट १,६८२ जनाले सहभागिता जनाएका थिए। शीर्ष १०० मा परेका सहभागीलाई व्यक्तिगत अन्तर्वार्ता, तालिम र जनसम्पर्क विस्तारका कार्यक्रममा समावेश गरिएको थियो। शीर्ष १२ किसान र शीर्ष १२ कृषि प्राविधिकको सहभागितामा शङ्खरापुर नगरपालिकाको कात्तिकेमा ६ एपिसोडको छायाङ्कन सम्पन्न भएको छ। यो कार्यक्रम भदौमा हिमालय टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रसारण हुनेछ।












