फिल्म । अभिनेता राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ आज शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। निर्माण पक्षका अनुसार, फिल्मले पहिलो सातामा २ करोड ४ लाख ग्रस कलेक्सन गरेको छ । यद्यपि फिल्मले सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले पहिलो साता १ करोड २२ लाख रुपैयाँ ग्रस कमाइ गरेको तथ्यांक छ ।
अभिनेता हमालको अनुबन्धले चर्चामा आएको यो फिल्मको प्रमोसनमा स्वयं हमालले दिलोज्यानले लागेका छन् । सामान्यतः प्रमोसनमा कम सक्रिय हुने हमालले ‘नरसिंहाः अवतार’का लागि भने रिलिजको सुरुवाती दिनदेखि नै काठमाडौं उपत्यकाका प्रमुख सिनेमा हलहरूमा दर्शकसँग साक्षात्कार गरे । हाल उनी दर्शक भेट्न देश दौडाहामा छन् । पूर्वी नेपालको यात्रा पूरा गरी अहिले पश्चिम नेपालमा रहेका हमाललाई अभिनेता राज कटुवाल, अभिनेत्री सनिशा भट्टराई र वितरक छविराज ओझाले साथ दिइरहेका छन् ।
उपत्यका वितरक करण श्रेष्ठका अनुसार, दोस्रो सातामा पनि फिल्मप्रति दर्शकको उत्साह उत्तिकै छ । अधिकांश दर्शकले राजेश हमालको अभिनयलाई उत्कृष्ट मानेका छन् । दीवाकर भट्टराईको निर्देशनमा बनेको यो फिल्ममा हमालसँगै राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजीवजंग बस्नेत र रमेश चन्द सोडारीको अभिनय छ ।
क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने निर्माता छन्। राजु विक्रम थापाको छायांकन र साहिल खानको सम्पादन रहेको यो फिल्मले दर्शकको मन जितिरहेको छ ।












