फिल्म । ‘कबीर सिंह’ र ‘एनिमल’ जस्ता ब्लकबस्टर फिल्मका निर्देशक सन्दीप रेड्डी वांगाले प्रभासको आगामी फिल्म ‘स्पिरिट’ बाट बाहिरिएपछि अभिनेत्री दीपिका पादुकोणमाथि निशाना साँधेका छन् । उनले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत दीपिकाको नाम नलिई ‘फोहोर पीआर गेम’ खेलेको र फिल्मको कथाको अंश खुलाएको आरोप लगाए ।
‘जब म कुनै कलाकारलाई कथा सुनाउँछु, म उसमाथि शतप्रतिशत विश्वास गर्छु । हामीबीच नबोलिएको गोपनीयता सम्झौता (एनडीए) हुन्छ । तर, तिमीले आफ्नो चरित्र ‘खोलिदियौ’, सन्दीपले लेखेका छन् ।
केही दिनअघि मिडिया रिपोर्टमा दीपिका ‘स्पिरिट’ बाट बाहिरिएको खबर आएको थियो । स्रोतका अनुसार दीपिकाले आठ घण्टा मात्र काम गर्ने, मोटो पारिश्रमिक र फिल्मको नाफामा हिस्सा मागेकी थिइन्, जुन निर्देशक सन्दीपलाई मन परेन । हालै दीपिकाले आफ्नो काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न कार्यघण्टा घटाउने निर्णय लिएकी छन्, जसका कारण उनले यो फिल्म छोडेको बताइएको छ ।
‘कल्कि २८९८ एडी’ पछि प्रभाससँग दीपिकाको यो दोस्रो सहकार्य हुने अपेक्षा थियो । तर, दीपिकाको स्थानमा अब अभिनेत्री तृप्ति डिमरीलाई प्रभासको अपोजिटमा लिइएको छ । यो विवादले सन्दीप र दीपिकाबीचको तनावलाई सतहमा ल्याएको छ र फ्यानहरू यो विषयमा सामाजिक सञ्जालमा विभाजित देखिएका छन् ।
‘स्पिरिट’ को निर्माण तीव्र गतिमा भइरहेको छ र यो फिल्म प्रभासको अर्को ठूलो प्रोजेक्टको रूपमा चर्चामा छ । यद्यपि, यो विवादले फिल्मको चर्चालाई थप तताएको छ ।











