हसनको ‘नायुमा’ मा एलिशा र गणेशमान

सङ्गीत । गायक हसन राईको नयाँ गीत ‘नायुमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शशि गुरुङको शब्द तथा संगीत रहेको यसगीतमा हसनले आफ्नो सुमधुर स्वर दिएका छन् भने देबेश राईले संगीत संयोजन गरेका छन् । लुङ्टो क्रियशनको प्रस्तुति रहेको उक्त म्युजिक भिडियो लुङ्टो क्रियशनकै अफिसियल युट्युब च्यानल मार्फत दर्शकमाझ ल्याइएको हो । भिडियोलाई स्वर्गीय अमर सृष्टा विक्रम राई प्रति समर्पित गरिएको छ । किरात समुदायको मौलिक विवाह संस्कारलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोलाई युवा पुस्तामाझ लोकप्रिय निर्देशक राजेश पुमा राईले निर्देशन गरेका हुन् । भिडियोमा चर्चित अभिनेत्री एलिशा राई र मोडल गणेशमान घलेको मुख्य अभिनय रहेको छ । विवाहको परिवेशमा सोल्टी (एलिशा) र सोल्टा (गणेशमान) बीचको प्रेम र आकर्षणलाई निकै सुन्दर तरिकाले देखाइएको छ ।

साथै, भिडियोमा हास्य कलाकार उमेश राई (फुलन्देकी आमा) को पनि विशेष उपस्थिति देख्न सकिन्छ । अन्य कलाकारहरूमा प्रकाश लिम्बु, शिशम वान्तावा राई, दोस्तिहाङ राई, महेन्द्र राई, खेमराज राई, हाङ्सामा लिम्बु लगायतले पनि अभिनय गरेका छन्।

भिडियोको छायांकन हरि हुमागाई (डीओपी) र उत्तम हुमागाई (सिनेमाटोग्राफर) ले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका छन् । गायक हसन राईले हालसम्म करिब दुई दर्जनभन्दा बढी गीत रेकर्ड गराइसकेका छन् भने आधा दर्जन गीतका म्युजिक भिडियोमा आफैँले मोडलिङ समेत गरेका छन् । ‘नायुमा’ गीतले दर्शकको मन जित्नेमा उनी विश्वस्त छन् । सांगीतिक क्षेत्रमा पृथक शैलीका गीतहरुमार्फत आफूलाई प्रस्तुत गरिरहने योजना हसनको छ । धरानस्थित सुरसाझ कलाकेन्द्र र अलंकार म्युजिक एकेडेमीमा विनोद प्रियदर्शीसँग संगीत सिकेका हसन पार्श्व गायनमा पनि विशेष रुचि राख्दछन् ।

कमेन्ट गर्नुहोस्