‘सिनेपा:’ सुरु भयो, सफल हुन्छ : प्रधानमन्त्री ओली

देश । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको बनेपामा ‘सिनेपा:’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माणको शुभारम्भलाई नेपाली फिल्म क्षेत्रका लागि एक ऐतिहासिक क्रान्ति भएको बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका – १० र १३ मा निर्माण हुने ‘सिनेपा:’ नामक छायाङ्कन स्टुडियोको निर्माण आरम्भ उद्घोष (शिलान्यास) समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले फिल्मकर्मीको करिब छ दशक लामो माग सम्बोधन हुने प्रक्रियामा रहेको जानकारी दिए । उनले बनेपामा निर्माण हुन लागेको यो स्टुडियोले फिल्म क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

आफ्नो पहिलो कार्यकालमै उक्त स्टुडियो निर्माण गर्ने निर्णय भए तापनि जग्गा विवाद र सरकार परिवर्तनजस्ता विभिन्न कारणले काममा अवरोध आएको स्मरण गर्दै भने,‘त्यसबेलाको जति अहिले राज्यको ढुकुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छौं । यसका लागि बजेट विनियोजन हुन्छ । काम थालेपछि सफल हुन्छ । यसलाई पनि सफल बनाउनुपर्छ ।’

उनले ओरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याइएको र अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा नखस्ने दाबी गरे । साथै, सरकार फिल्म क्षेत्रप्रति सधैँ सकारात्मक र सहयोगी रहेको उनले प्रस्ट पारे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने विषयमा सहभागी सञ्चारमन्त्री र सचिवको ध्यानाकर्षण गराउँदै १० दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिए । उनले कतिपयले राजनीतिमा अभिनय गर्न थालेको टिप्पणी गर्दै आफूहरू भने राजनीतिलाई यथार्थमा बदल्ने साधनका रूपमा लिएर काम गरिरहेको बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, अभिनेता नीर शाह, अभिनेत्री बसुन्धरा भुसाल, कलाकार दीपकराज गिरी, जीतु नेपाल, दीपाश्री निरौला लगायत सहभागी थिए ।

कमेन्ट गर्नुहोस्