प्रिमियर रिभ्यू : नाम झैँ न्यायो ‘ऊनको स्वीटर’

फिल्म । नेपाली फिल्म ‘ऊनको स्वीटर’ को प्रिमियर काठमाडौँमा गरिएको छ । आयोजित प्रिमियरमा फिल्म हेर्नेले यसको विषयवस्तु, सङ्गीत र कलाकारको अभिनयको प्रसंसा गरेका छन् । डेब्यु निर्देशक नवीन चौहानले बनाएको संसारको निम्तालुले प्रसंसा गरे । फिल्म हेरेपछि प्रतिनिधिसभा की उपसभामुख इन्दिरा राना मगरले फिल्मले युवालाई प्रेम गर्न सिकाउने बताइन ।

उनले भनिन्,‘यसले प्रेम गर्न सिकाउँछ, किनकि यसमा दुई आत्मा बीचको प्रेम देखाईएको छ । पछिल्लो समय सुनिने युवतीसँग जोडिएको घटनाहरू आवेग र अमर्यादित हुने गरेका छन्, तर यो फिल्ममा केटीहरूको मन कसरी जित्ने भन्ने देखाईएको छ ।’

विविधताले भरिएको समाज, सामीप्यता यसको आकर्षण पक्ष रहेको उपसभामुख रानाले बताइन । प्रतिनिधिसभा की सांसद सोविता गौतमले आफ्नो बाल्यकालको समयमा फिल्ममा पुनः देख्न पाएको बताइन । उनले भनिन्,‘फिल्म छायांकन गरिएको स्थान नै मनमोहक छ । त्यसमा बुनिएको कथा, विविधतामुलक समाज, कलाकारको अभिनयले तृप्त बनाउँछ । यसले अन्य फिल्म भन्दा फरक रुपमा अल्पसंख्यक जुनै जाति रहेता पनि त्यसलाई बहुमतले प्रभाव पार्ने देखाएको छ । यो अन्य भन्दा भिन्न छ ।’

अभिनेता दयाहाङ राईले फिल्मले आँखालाई शितलता दिने बताए । उनले फिल्मको गीत झैँ फिल्म न्यानो र शितल रहेको प्रतिक्रिया दिए । फिल्म हेर्न आइपुगेकाले दिएको प्रतिक्रिया आफुलाई खुसी लागेको अभिनेता विपिन कार्कीले बताए । उनले पहिलो दर्शक झैँ नियमित शोमा पनि प्रतिक्रिया पाउने अपेक्षा राखे ।

अभिनेत्री मिरुना मगरले आफूले भिन्न संसारमा नयाँ जीवन बाच्न पाएको बताइन । उनले भनिन्,‘आजको प्रतिक्रियाले मेहनतको फल पाएको जस्तो लागेको छ । आफू भन्दा बिल्कुलै भिन्न किसिमको जीवन बाँच पाएँ, यसको लागि निर्देशक नवीन जीलाई धन्यवाद । मैले यसको निर्माणको क्रममा निकै इन्जोय गरे ।’

आर्टमाण्डू प्रा.लि.को प्रस्तुति रहेको ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई जस्ता कलाकारहरूको मुख्य भूमिका रहेको छ । साथै, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल र भावना खपाङ्गी मगर लगायतका अनुभवी कलाकारहरूको पनि सशक्त अभिनय देख्न सकिनेछ ।

यसमा समावेश सुजन चापागाईँ र झुमा लिम्बुद्वारा निर्देशित ‘फूल, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले दर्शकमाझ लोकप्रियताको शिखर चुमेका छन् । निर्देशक नवीन चौहानको यो पहिलो फिचर फिल्म हो । ‘ऊनको स्वीटर’ को कथा पूर्वी नेपालको पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ।

कमेन्ट गर्नुहोस्