‘जन्ते बाख्रो’ को कथा के हो ?

फिल्म । नेपाली ग्रामीण संस्कृतिमा आधारित सामाजिक कमेडी फिल्म ‘जन्ते बाख्रो’ आगामी जेठ २३ गते देशभर प्रदर्शनमा आउँदैछ । निर्देशक सिमोस सुनुवारको निर्देशनमा बनेको यस फिल्मले हराउँदै गएको परम्परागत जन्ती सत्कार शैलीलाई पर्दामा उतार्ने प्रयास गरेको छ ।

यसमा खासगरी पहिलाको ग्रामीण परम्परामा जन्तीलाई खुला स्थानमा खसी काटी, टपरीमा मासु-भात खुवाउने चलनलाई मुख्य कथावस्तु बनाइएको छ। जन्तीहरूलाई भुइँमा लहरै बसाएर दुनामा खाना खुवाउने यो चलन अहिले पार्टी प्यालेस र बफे संस्कृतिको प्रभावले लोप हुँदै गएको छ ।

निर्देशक सिमोसले ‘जन्ते बाख्रो’ मार्फत यही हराउँदै गएको परम्परालाई भिजुअल दस्तावेजीकरणको रूपमा जोगाउने प्रयास गरिएको बताएका छन् । ‘नेपाली ग्रामीण परम्परालाई रमाइलो तरिकाले देखाउँदै दस्ताबेजीकरण गर्ने हाम्रो टिमको उद्देश्य हो’, उनले भने ।

फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, र कुशल गजमेरलगायत कलाकारको अभिनय रहेको छ।

मुइन इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भण्डारीले लेखेका हुन् भने निर्माता सन्तोष गौतम रहेका छन् । यसको छायांकन हरि हुमागाई र उत्तम हुमागाईले गरेका छन्, सम्पादन सुनिल शिवभक्तिले गरेका छन् । फिल्मको पोस्टर डिजाइन रोयल भिमसेन ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।

कमेन्ट गर्नुहोस्