फिल्म । नेपाली महोला राष्ट्रिय टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ को जीवनी समेटिएको गीत सार्वजनिक गरिएको छ । दर्शक रुवाउने भनिएको ‘रात किन हुन्छ हजुर’ गीतमा पीडायुक्त शब्दहरूमार्फत कप्तानको जीवनीको सङ्घर्षलाई व्यक्त गरेको छ ।
थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको गीतमा गायक गौतमको सङ्गीत र प्रभा बर्तौलाको शब्द रचना रहेको छ । निर्देशक मिलन चाम्सले यस गीतलाई पूर्ण रूपमा सुन्नको लागि दर्शकबाट माग आएपछि सार्वजनिक गरिएको बताए ।
प्रिमियरमार्फत राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्म ‘अञ्जिला’ ले दर्शकमार्फत पनि राम्रो प्रतिक्रिया पाएको छ । फिल्मलाई अधिकाँस मल्टिप्लेक्स हलले प्राथमिकतामा राख्दै शो दिएका छन् । निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकको राम्रो साथ् पाइएको बताएका छन् ।
फिल्ममा कप्तान सुब्बाको जीवनको सङ्घर्ष र सफलता कथा देखाईएको निर्देशक चाम्सले बताए । ‘खेलाडीको विषयमा फिल्म तयार गर्नु चुनौती पूर्ण विषय थियो, सम्पूर्ण टीमको सहयोगले पुरा गरें । यो एउटा फुटवल खेलाडी र कप्तान सुब्बाको लागि डिजिटल दस्तावेज पनि हुनेछ’, उनले भने । फिल्मका कलाकार समेत रहेका अभिनेता दयाहाङ राईले आफूले वर्षौपछि सम्झिने फिल्म ‘अञ्जिला’ बनेको बताए ।
फिल्ममा सुनिल थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।