‘विदेशी पैसा फिल्मले नेपाल भित्र्याएको छ’ : नवीन

फिल्म । महाशिवरात्रीको अवसर पारेर प्रदर्शन हुने फिल्म ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले मेकिङका क्रममा कुनै सम्झौता नगरेको बताएका छन् । रियलस्टेट र होटेल व्यवसायमा रहेका निर्माता श्रेष्ठले फिल्ममा पहिलोपटक लगानी गरेका हुन् । ‘लाज शरणम्को टिम र मेहनत देखेर मैले यो क्षेत्रमा लगानी गरेको हुँ । अब यो क्षेत्रमा प्रवेश गरेपछि म पछि हट्दिनँ, फिल्ममा लगानी गरिरहने हो’, उनले भने ।

उनले यो व्यवसायमा आकर्षित हुनुको कारण विदेशको लगानी नेपाल ल्याउने बताएका छन् । ‘फिल्ममार्फत विदेशबाट नेपालमा पैसा ल्याउन सकिन्छ । यसकारण पनि म यो विधामा आकर्षित भएँ । यद्यपि यसका लागि राम्रो समूहले दर्शकको चाहना अनुरुपको फिल्म तयार गरेर बजारमा ल्याउन सक्नु पर्छ’, उनले भने ।

हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’मा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन् । यसलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको फिल्ममा रामनरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्