‘फेरी रेशम फिलिली’ : उस्तै छ रेशम र हरियाको दोस्ती

फिल्म । ‘पिरतीको जालमा’ गीतमार्फत लोकप्रिय बनेको फिल्म ‘रेशम फिलिली’ को नयाँ सिरिज ‘फेरी रेशम फिलिली’ नौं वर्षपछि महाशिवरात्रीको अवसर पारेर फागुन १४ मा प्रदर्शन हुँदैछ । यो फिल्म रेशम अर्थात् विनय श्रेष्ठ र हरिया अर्थात् कामेश्वर चौरसियामा केन्द्रित छ । यी दुईको जीवनमा विदेशिने मोहले ल्याउने उतारचढावलाई नै फिल्मको कथा बनाएका छन् निर्देशक तथा लेखक निरोज महर्जनले ।

अमेरिकाको भिषा लागेको रेशम र उसको लागेको भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको द्वन्द्व देखाइएको ट्रेलरमा रेशम र हरिया केन्द्रित छन् । अभिनेता श्रेष्ठले नौं वर्षपछि पात्रलाई उस्तै रुपमा प्रस्तुत गर्नुको कारण रेशम आफ्नो आत्मासँग जोडिएको बताए ।

‘यो पात्र रेशम मेरो आत्मामा बसेको छ, त्यसैले यो सँग टाढिने कुरै भएन । यसकारण मलाई योसँग जोडिन समय नै लागेन । यसपटक झन् डबल मजा छ’, अभिनेता श्रेष्ठले भने । उनले झैँ अभिनेता चौरासियाले पनि आफूलाई स्थापित गर्ने पात्र हरियाको रुपमा दर्शक माँझ फर्किन पाउँदा खुसि लागेको बताए ।

‘मलाई चिनाउने पात्रलाई पुनः लिएर आउँदैछु, दर्शक मात्र नभई म आफैँ पनि यसको पर्खाइमा थिएँ । यो मेरो पुनः सुरुआत भएको भन्न सकिन्छ’, उनले भने । फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको फिल्मलाई सुरेन्द्र पौडेलको सम्पादन गरेका छन् । सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छिन् ।

कमेन्ट गर्नुहोस्