‘फिल्मको सूचना दर्शकसम्म पुर्याउनु आवश्यक छ’ : सलोन

फिल्म । अभिनेता सलोन बस्नेतले फिल्म निर्माणसँगै प्रचारमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताएका छन् । उनि निर्माताको रुपमा डेब्यु गरेको फिल्म ‘रंगी’ को आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म बनाउनुसँगै दर्शकसम्म सूचना पुर्याउनु आवश्यक रहेको बताए ।

उनले भने,‘फिल्मको बारेमा जानकारी दर्शकसम्म पुर्याउनु महत्पूर्ण हुन्छ । त्यो पक्षलाई ध्यान दिनु आवश्यक रहेको मैले महसुश गरे । फिल्म मै हुर्किएकोले आगामी समयमा केही फरक काम गरौँ भन्ने थियो । फिल्म निर्माण गरें, आगामी दिनमा पनि गर्नेछु ।’

उनले छोरीको जन्मपछि सान्भी इन्टरटेनमेन्ट प्रालि स्थापना गरेर फिल्म निर्माण गरेका हुन् । ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । फिल्म विशेषत बाबुछोरीको कथामा आधारित छ । फिल्मको पोस्टर, टिजर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रिया प्रति निर्माण समूह खुशी छ ।

आगामी फागुन २ गते रिलिज हुने फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्