‘अञ्जिला’ को बेलायत प्रिमियर हुँदै

फिल्म । नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको आफ्नो जीवनमा आधारित फिल्म ‘अञ्जिला’ को बेलायत प्रिमियर हुने भएको छ । कप्तान सुब्बाको जीवन सङ्घर्ष र सफलतामा आधारित फिल्मको वर्ल्ड प्रिमियर गत मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा भएसँगै प्राप्त प्रतिक्रियाले अन्य देशमा पनि प्रिमियर हुने भएको हो । निर्देशक मिलन चाम्सका अनुसार आउँदो फेब्रुअरी १५ अर्थात् फागुन ३ गते बेलायतको लन्डन अल्डरसटमा फिल्मको प्रिमियर हुँदैछ ।

उनले भने,‘कप्तान सुब्बाको जीवनी हामीले कल्पना गर्ने कथा भन्दा कम छैन । साथै अहिले हुने प्रिमियरको उदेश्य कप्तान सुब्बाको घर निर्माणमा गर्नु हो । त्यसकारण हामीले नियमित शो भन्दा अगाडी प्रिमियर गरिरहेका छौँ ।’

उनले हङकङमा दुई शो भईसकेको र बेलायत प्रिमियरबाट आफू धेरै आशावादी रहेको बताए । यो प्रिमियरमा सहभागी हुनेले मनोरन्जनसँगै सामाजिक कार्यमा पनि सहभागिता जनाउने भएकाले अन्य देशमा पनि कुरा भइरहेको निर्माण पक्षले जनाएको छ ।

‘अञ्जिला घरका लागि गरिएको प्रिमियरमा आउनेले भरपुर मनोरन्जन पाएका छन् । यो फिल्म हेर्दा समय र पैसा दुबैको सदुपयोग भएको छ’, निर्देशक चाम्सले भने ।

निर्माता प्रेमकुमार श्रेष्ठले बेलायतपछि दक्षिण कोरियामा मार्च २ मा प्रिमियर गरिने जानकारी दिए । कप्तान सुब्बाको धर्म पिता समेत रहेका श्रेष्ठले अञ्जिलाको आफ्नै घर हुनेमा दुइमत नरहेको बताए ।

फिल्ममा अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् । यसका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यसको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । फिल्मलाई काठमाडौँमा एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्