फिल्म । नेपाली फिल्मको इतिहासमा सर्वाधिक व्यापार गर्न सफल भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ निर्माणसँगै अन्तर्राष्ट्रिय वितरण गरेको समूह टुटेको छ । यसको निर्माण कम्पनि ‘सेभेन सिज इन्टरटेनमेन्ट’मा मुख्यत तीन जना विनोद पौडेल, प्याट्रिक सुवेदी र रमेश ढकाल देखिएका थिए । उनीहरुले ‘पशुपति प्रसाद २ : भष्मे डन’ मार्फत अन्तर्राष्ट्रिय फिल्मको वितरणको काम सुरू गरेका थिए । तर, त्यसको केही समय पश्चात यो समूह एकठाउँमा छैन ।
विशेषत फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को प्रदर्शन र सफलता पश्चात समूहमा विभाजन देखिएको छ । ‘सेभेन सिज इन्टरनेशनल फिल्म्स’ मार्फत प्याट्रिक सुवेदी र रमेश ढकालले फिल्म खरिद गरिरहेका छन् । उनीहरुले ‘लाज शरणम्’, ‘ऊनको स्वीटर’, ‘पहाड’ लगायतका फिल्म खरिद गरेर अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनका लागि वितरण गर्दैछन् ।
यो हालै खोलिएको नयाँ कम्पनि हो । जबकि यसअगाडि यी दुईसँगै विनोद पौडेल रहेर ‘सेभेन सिज इन्टरटेनमेन्ट’ मार्फत फिल्म वितरण गर्ने गरेका थिए । यस विषयमा उनीहरुले केहि बताउन चाहेका छैनन् । तर, ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनकै समयमा आर्थिक विषयलाई लिएर असमझदारीको खबरहरू बाहिरिएका थिए ।