‘तेल भिसा’ मा बुवा र छोरा नै विपिन

फिल्म । अभिनेता विपिन कार्कीले फिल्म ‘तेल भिसा’ मा दोहोरो भूमिका निर्वाह गरेका छन् । छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाईएको फिल्ममा अभिनेता कार्कीले बुवा र छोराको भूमिका निर्वाह गरेका हुन् । उनले बुवाको दृश्य नेपाल र छोराको दृश्यलाई अमेरिकामा छायाङ्कन गरिएको बताए ।

‘यो फिल्म प्रति मलाई विषयवस्तुले नै आकर्षित गरेको हो । अहिले आफ्ना परिवारका सदस्य विदेश भएपछि बुवाआमा पनि पुग्नु हुन्छ । उहाँहरुको अपेक्षा र इच्छा नबुझी हामीले भिन्न परिवेश र संस्कृतिमा जोड्न खोज्छौं । यो विषयलाई बुझ्नु जरुरी छ र चलचित्रले राम्रोसँग बुझाउन सक्छ भन्ने हाम्रो विश्वास छ’, अभिनेता कार्कीले भने,‘यसमा बुवा र छोराको भूमिका म आफैँले गर्ने कुराले मलाई उत्साहित बनाएको थियो । एउटा कलाकारलाई उसले निर्वाह गर्ने चरित्रको भिन्नताले आनन्द दिन्छ ।’

उनले अमेरिकाको छायाङ्कन सकेर नेपालमा काम सुरू हुन् दुई महिना लागेपछि आफूले शारीरिक रुपमा समेत भिन्नता ल्याउन सहज भएको बताए । साथै, आफ्नै बुवा पूर्व सैनिक हुनुभएकाले उहाँकै भोगाईलाई आफ्नो वृद्धको भूमिकामा जोडेको अभिनेता कार्कीले जानकारी दिए । मङ्सिर ७ देखि प्रदर्शनरत फिल्मलाई निर्देशक शङ्कर घिमिरेले निर्देशन गरेका हुन् ।

सार्वजनिक प्रदर्शन पश्चात विपिनको दुवै भूमिकालाई दर्शक र कलाकर्मीले रुचाएका छन् । अभिनेत्री पूजा चन्दसँग श्रीमान् र छोराको भूमिकामा विपिन सुहाएक छन् । मेहनतलाई पर्दामा स्विकार्दा विपिन पनि खुसि छन् । फिल्ममा ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुले अभिनय गरेका छन्।

कमेन्ट गर्नुहोस्