‘उजेली’ र ‘हाम्रो मुमिन’का निर्देशक गौचनले यसकारण बनाए ‘मिसिङ: केटी हराएको सूचना’

फिल्म । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ नाजिर हुसेन र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । निर्देशक गौचनले प्रचारप्रसारमा प्रयोग गरिएका सामग्री झैँ फिल्ममा समेत उक्त दुई कलाकार कै दृश्य ९० प्रतिशत भन्दा बढी रहेको बताएका छन् । उनले आफ्नो सोच अनुसार नै दुई कलाकारले जीवन्त अभिनय गरेको बताए ।

‘मलाई अभिनयलाई जीवन्त बनाउने कलाकार चाहिएको थियो । सिफारिसमै सृष्टी र नाजिरको काम हेरेर अनुबन्धित गरें । अहिले काम सकिएको छ, उनीहरूले गरेको कामको तारिफ म शब्दले गर्न सक्दिन । मैले चाहे जस्तो काम गरिदिएकाछन्’, निर्देशक गौचनले भने ।

सामाजिक संजालबाट भेटिएका दुई अपरिचित युवायुवती यात्रामा निस्किँदा आउने उतारचढावको कथा यसमा छ । फिल्मले पहाडी समुदायको युवा र मधेशी समुदायकी युवतीको रहनसहन र मेलमिलाप बारेको कथा पेश गर्छ । फिल्मले पहाडी-मधेशी मेलमिलापको खोजी गर्छ । फिल्ममा सीताको भूमिकामा सृष्टिले अभिनय गरेकी छन् भने रामको भूमिकामा नाजिर छन् ।

पटकथा लेखक, निर्माता तथा निर्देशक गौचनले यो फिल्म निर्माणका लागि प्राप्त प्रेरणाको बारेमा आफ्नो अनुभव साटे । उनले भने, ‘नेपाल फर्केर मैले धेरैजसो फिल्म पहाड र हिमाली क्षेत्रमा बनाइएको देखें । यी क्षेत्र प्रतिष्ठित भएपनि म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थें ।’

३२ वर्षअघिको लोकप्रिय टिभी डकुड्रामा ‘उजेली’ र ‘हाम्रो मुमिन’का निर्देशक समेत रहेका गौचनको यो तीन दशकपछिको पुनरागमन हो । फिल्ममा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

कात्तिक ३० गतेदेखि प्रदर्शन हुने फिल्ममा ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता र ब्यानरको रुपमा छ । मुलुकको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका निर्देशक तथा वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टका प्रमुख समेत रहेका नकिम उद्दिन कार्यकारी निर्माताको रुपमा छन् ।

कमेन्ट गर्नुहोस्