देश । ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ । आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिईन् ।
मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउनुहुने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उनले बताइन । कूल ४० देखि ५० वटा विधामा प्रदान गरिने अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने बताइएको छ ।
पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा परिरहेकाले यसले पर्यटन क्षेत्रमा पनि असर गरिरहेकाले बताउँदै यस विषयमा विश्व समूदायको ध्यानाकर्षण गराउन कालापत्थरमा पत्रकार सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।
लुक्लाका पर्यटन व्यवसायी, समाजसेवी तथा स्टार युथ क्लबको केन्द्रीय अध्यक्ष एवं समाजसेवी नाम्गेल शेर्पाले जलवायु परिवर्तनबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताए । पत्रकार सम्मेलनमा उपस्थित आरोही मिङ्मा तेञ्जी शेर्पाले आफू १७ वर्षदेखि हिमालमा काम गरिरहेको बताउँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा असर देखिन थालेको उल्लेख गरे ।
वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा दोर्जी शेर्पा र पर्यटन व्यवसायी एवं आरोही मिङ्मा शेर्पासँगको सहकार्यमा एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टले अवार्ड आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।








