फिल्म । गत वर्ष नेपालमा ५१ औँ दिन मनाउन सफल फिल्म ‘दिमाग खराब’ ओटीटीमा रिलिज भएको छ । अष्ट्रेलियासँगै डायस्पोरामा नेपाली फिल्म वितरण, म्युजिकल इभेन्ट गरिरहेको एमएसएम इन्टरटेन्मेन्ट्सद्वारा संचालित एमएसएम भिडियोमा फिल्म दसैँलाई लक्षित गर्दै आज घटस्थापनामा रिलिज गरिएको हो ।
‘दिमाग खराब’ ले रञ्जना सिनेप्लेक्समा उक्त सफलता प्राप्त गरेको थियो । ओटीटी प्लेटफर्मको सुरुआत गर्न पाउँदा आफू उत्साहित गरेको संचालक छत्र थापाले बताएका छन् । उनले उक्त ओटीटीमा नयाँ फिल्म, वेब सिरिज, प्रिमियम शो पनि विस्तारै उपलब्ध हुने बताए । नेपाली फिल्मलाई विश्वभरका दर्शकसम्म पुर्याएर डिजिटल माध्यममा बलियो उपस्थिति देखाउन आफूले अन्तर्राष्ट्रिय वितरणसँगै ओटीटीमा आबद्ध भएको थापाले जानकारी दिए ।
यस्तै निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ मा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ ।













