
फिल्म । अभिनेता सरोज खनालले नेपाली फिल्म क्षेत्रमा समूहवाद र गुटबन्दी देखिएको बताएका छन् । आज काठमाडौँ सुन्धारास्थित क्युएफएक्स सिनेमाजमा फिल्म ‘नम्बरी सुन’ को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता खनालले नेपाली फिल्ममा केही निर्माण कम्पनिले आफ्नो समूह भन्दा बाहिरका कलाकारसँग काम गर्न नखोजेको बताएका छन् ।
‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ । केही निर्देशकले, केही प्रोडक्शन कम्पनीले केही कलाकारसँग मात्र काम गर्ने चलन चल्दै आएको छ । यसैले, हाम्रो हातमा त जस्ता जस्ता फिल्म पर्छन्, ती फिल्मलाई न्याय दिने कोशिश गर्ने हो । यसले दीर्घकालीन रुपमा भने फाइदा गर्दैन्’, अभिनेता खनालले भने ।
उनले कलाकार समयानुकुल परिवर्तन हुने भएकाले सबैले सबैलाई अवसर दिनु पर्ने बताए । अवैध सुन समातिने घटनाको कथावस्तु र प्रेम र द्वन्द्वलाई समेटिएको फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् ।

फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, बुद्धि तामाङ, राजाराम पौडेल, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती लगायतका कलाकारले अभिनय गरेका छन् ।
साउन २५ गतेबाट सार्वजनिक प्रदर्शन हुने फिल्ममा शिवम् अधिकारीले पटकथा तथा संवाद लेखन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठले सङ्गीत सिर्जना, रामजी लामिछानेले नृत्य निर्देशन, दिव्य सुवेदीले छायाङ्कन, देव महर्जनले द्वन्द्व निर्देशन, गौतमराज खड्काले सम्पादन गरेका छन् ।
