फिल्म । साउन ११ गते प्रदर्शन हुने फिल्म ‘ईश्वर’ लाई राजु गिरीले निर्देशन गरेका हुन् । फिल्मलाई कथावस्तु अनुसार आफूले उत्कृष्ट बनाउने कोसिश गरेको निर्देशक गिरीले बताएका छन् । फिल्मको विषयमा जानकारी दिदै उनले युवायुवती आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको बताए ।
‘हाम्रो ट्रेलरसँगै गीतसङ्गीतलाई दर्शकले मन पराउनुभएको छ । हामीले जे जति भ्यूज र प्रतिक्रिया प्राप्त गरेका छौँ, ती सम्पूर्ण अर्गानिक हो । फिल्म राम्रो बनाएका छौँ, हलसम्म पुग्ने दर्शक निराश बन्नु हुनेछैन’, निर्देशक गिरीले भने ।
अन्तरजातीय प्रेमकथालाई उठान गरेको फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकार फिचर्ड छन् । अभिनेता झाले राम्रो फिल्मले दर्शक पाउनेमा दुईमत नरहेको बताए ।
‘दर्शकले राम्रो फिल्मलाई निराश बनाउनु हुन्न् । अब हामीले हेरिदिनुस र माया गरिदिनुस भन्नु पर्ने अवस्था छैन । मलाई हरेक नेपाली फिल्मए व्यापार राम्रो गरेको सुन्दा आनन्द आउँछ तर दर्शकले रुचाउने र नरुचाउने उहाँमा नै छ । हाम्रो काम भनेको फिल्म बारे जानकारी दिने मात्र हो’, अभिनेता झाले भने ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ । यहि फिल्मबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि अभिनयमा कमब्याक गरेकी छन् । उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘पसिना’ हो ।
फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ ।