
फिल्म । गत जेठ १० गते रिलिज भएको नेपाली चलचित्र ‘पुजार सार्की’ले रिलिजको तेस्रो हप्तासम्म पुग्दा समेत दर्शकको चाप हलमा देखिएपछि कलाकार, निर्देशकसहितको टिम चितवन र पोखराका विभिन्न हल भिजिटमा निस्केका छन् । शनिवार बिहानै अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइली, निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल सहितको टिम चितवन पुगेको छ ।
चितवन खैरहनी नगरपालिकाको पर्सा बजारमा रहेको म्याङ्गो जनज्योति सिनेमा हल, नारायणगढको इन्द्रदेव सिनेमा, क्यूएफएक्स जलमा र भरतपुरको सिजि मलस्थित सिनेप्लेक्स (क्यूएफएक्स) सिनेमा हलमा ‘पुजार सार्की’ टिमले दर्शक भेटी साक्षात्कार गरेको छ । यो टिमले आइतबार दिनभर पोखराका हलहरूमा दर्शक भेट्नेछ । पोखराका सबै हलहरूमा रिलिजको सुरुवात देखि नै यस चलचित्रले दर्शकको उच्च उपस्थिति सहितको व्यापार गरिरहेको छ।
आफ्नै क्षेत्रको कथा र पोखरा नजिक छायाङ्कन भएको कारण पनि पोखरामा दर्शकको चाप रहेको निर्देशक दिनेश राउतले बताए । हलमा पुग्दा चार पटकसम्म ‘पुजार सार्की’ हेर्न आएका दर्शक देखेर आफू निकै खुसी भएको अभिनेता सिग्देलले बताए । यस चलचित्रमा ‘मैयाँ’को भूमिकामा रहेकी अभिनेत्री अञ्जना बराइलीले हलमा दर्शक भेट्न पाउँदा आफू सधैँ खुसी हुने बताइन् ।
रिलिजको सत्रौँ दिनमा करिब ८० शो सहित चलिरहेको यो चलचित्रले शनिवार देशभरका हलहरूमा उत्साहाजन व्यापार गरिरहेको वितरक रोहित कट्टेलले बताए ।
प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतको अभिनय रहेको फिल्ममा अन्तरजातीय प्रेम र त्यसका लागि गरिने सङ्घर्ष देखाईएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मका लेखक विकास सुवेदी र निर्माता सुवास भुसाल हुन् । जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई प्रस्तुत गरिएको फिल्ममा तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म नेपालमा आरआर फिल्मस र अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गरिरहेको छ । डिजिटल वितरण ओएसआर डिजिटलले गरेको छ ।
फिल्ममा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द्र बराल र मुना थटालले स्वर दिएकाछन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।