अनमोल : ‘कालिञ्चोकदेखि अदालतसम्म’

फिल्म । अभिनेता अनमोल केसीका लागि वर्ष २०७९ र ०८० सुखद रहेन । उनले अभिनय गरेको फिल्म ‘छड्के २’ असफल भयो भने एक फिल्ममा अभिनय नगर्ने निर्णय लिएपछि उनी प्रहरी,हिरासत हुँदै अदालत समेत पुग्न पर्यो । अनमोलका लागि जेल पुग्नु र अदालतमा प्रस्तुत हुनु अनपेक्षित थियो । त्यो बेलामा अनमोलले आफूलाई ‘प्यानिक अट्याक’ आएको बताए ।

हालै एक टेलिभिजनसँगको अन्तर्वार्तामा अनमोलले आफू कालिञ्चोकबाट काठमाडौँ फर्किदै गर्दा पक्राउ परेको बताए । ‘म साथीहरूसँग कालिञ्चोक पुगेर फर्किदै थिएँ । मलाई अचानक पक्राउ गरेर आफैँ गाडी हाक्न लगाएर ल्याईएको थियो । त्यतिबेला मेरो परिवारको कोहि यहाँ हुनुहुन्थेन । त्यसले गर्दा पनि मेरो मानसिक अवस्था के थियो भन्ने तथ्यलाई भन्न सक्दिन’, अनमोलले भने ।

उनले आफूलाई उक्त घटनाको असर अहिलेसम्म रहेको बताए । उनले भने,‘अहिले पुलिसको गाडी आएको देख्दा, साइरन बजेको सुन्दा पनि डर लाग्छ । मलाई नै समात्न आएको होकी भन्ने पनि लाग्छ ।’

उनले आफूले हरेक घटनाक्रम वा भोगाईलाई सकारात्मक प्रतिक्रिया लिने गरेको बताए । उनले जेल पुग्नु र त्यो अवस्थाबाट गुज्रिनु पनि एउटा सिकाई रहेको बताए । ‘मैले त्यहाँ पुगेर श्रीकृष्ण भगवानको जन्मस्थललाई देख्न पाएँ भन्ने सोचेको छु । त्यसले मलाई सिकाएको छ । जीवनमा यस्ता सिकाई पनि काम लाग्छ’, अनमोलले भने ।

उनको शालीनताको निकै चर्चा हुने गर्छ । उनी धेरै बोल्दैनन् र रिजर्भ बस्छन् । आफ्नो फिल्मको प्रदर्शन वरपर बाहेक अनमोल खासै मिडियामा देखिदैनन् । कसैलाई बिझाउने कुरा नगर्ने अनमोलको फिल्म भने पछिल्लो समय जुधिरहेको छ ।

जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’ लाई निर्देशक सुयोग गुरुङले निर्देशन गरेका हुन् । उनले पहिलोपटक अभिनेत्री जसिता गुरुङसँग स्क्रिन शेयर गरेका छन् । यो जोडीलाई सार्वजनिक ट्रेलर तथा गीतसङ्गीतमार्फत राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ । फिल्ममा जसिताले ‘मिक्सोलोजिस्ट’ को भूमिका निर्वाह गरेकी छिन् ।

यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह-निर्माताको रुपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् ।यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् ।

रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका संगीतकार हुन् । फिल्ममा अष्ट महर्जनको एक्सन छ । फिल्म टाइम लुपको कथालाई उठान गरेको छ । सार्वजनिक ट्रेलर र गीतसङ्गीतको लोकप्रियतालाई मापन गर्दा जेठको १० गते बक्स अफिसमा यो फिल्मले राम्रो ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्