विवादित मेयर थापाको जीवनीमा आधारित फिल्म ‘मेयर’ को छायांकन सकियो

फिल्म । छायांकनरत नेपाली फिल्म ‘मेयर’ को छायांकन ५१ औं दिनमा सकिएको छ । दीपेन्द्र के. खनालको निर्देशनमा तयार भइरहेको फिल्म सर्लाहीको बागमती नगरपालिका प्रमुख भरत थापाको जीवनीसँग आधारित छ । सोही कारण फिल्मको ९५ प्रतिशत छायांकन बागमती नगरपालिकामा गरिएको छ ।

थापा उनै मेयर हुन् जसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापाको पाँच करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ ६६ सम्पत्तिको स्रोत नखुलेको आयोगको अनुसन्धानबाट खुलेको थियो । मेयर थापाविरुद्ध अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको चैत २८ गते मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेसँगै उपमेयर लीलाकुमारी मोक्तानले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेकी छिन् ।

विवादित ‘मेयर’ को भूमिकालाई अभिनेता खगेन्द्र लामिछानेले निर्वाह गरेका छन् । मेयर थापाको मुद्दा अख्तियारमा धेरै सङ्ख्यामा छ । फिल्ममा थापाकै लगानी रहने घोषणा गरिएता पहिले निर्मातामा उनको नाम छैन । यद्यपि उनको छोरी अर्विशा थापाले फिल्ममा अभिनय गरेकी छिन् । स्थानीय छवि विग्रिएको मेयरलाई नायक बनाएको भन्दै फिल्मको विरोध स्थानीयले गरेका थिए ।

फिल्ममा वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी लगायतका कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्