फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेसँगै यसको चर्चा बढ्दो छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट भनिएको ‘महाजात्रा’ आजदेखि नेपालसँगै विदेशमा एकसाथ प्रदर्शनमा आएको छ । यो वर्षकै भव्य रिलिज भनिएको फिल्मलाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समेत शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई मनपर्ने कलाकार हरिवंश आचार्य अभिनित फिल्म भन्दै शुभकामना दिएका हुन् ।
‘आजदेखि फिल्मको प्रदर्शन सुरू भएको छ । यसको धेरै प्रसंशा सुनेको छु । समय मिलेमा म पनि फिल्म हेर्ने छु’, सामाजिक सञ्जालमार्फत उनले शुभकामना दिएका छन् । प्रिमियरमा प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् ।
फिल्मको मार्केटिङले गर्दा हरेक वर्गका दर्शकसम्म सूचना पुगेको कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले बताए । नेपाल भ्रमण गरेर प्रचारप्रसारमा गरेको ‘महाजात्रा’ ले मजदुरदेखि मेयर हर्क साम्पाङसम्म, रिक्सा, बस, सफारीदेखि रत्नपार्कको पुलसम्म प्रचार सामग्री राखेको छ । नेपालमा यस किसिमको भव्य प्रचारप्रसार कमै फिल्मको हुने गरेको छ । क्रिकेट लाइभदेखि अनलाइन विज्ञापन गरिरहेको फिल्मले नेपालसँगै विश्वव्यापी विष्फोटक व्यापार गर्ने अनुमान गरिएको छ । आज (चैत ९) देशका ठूला अनलाइन पोर्टल र पत्रिकामा विज्ञापन गरेर नेपाली फिल्मप्रति दर्शकसँगै फरक वर्गलाई आकर्षण गर्न सफल हुनुका साथै नेपाली फिल्मको बजार बढाउन प्रचारप्रसारमा कम्जुस्याई गर्न नहुने अभिनेता बानियाँले बताए ।
‘हामीले व्यापार सोच्छौँ तर प्रचारप्रसारमा ध्यान दिन सक्दैनौँ । हामीले नेपालभर महाजात्रा आउँदैछ भनेर दर्शकलाई जानकारी दिएका छौँ । हामीले बजारलाई बढाउने किसिमले प्रचारप्रसार गरिरहेका छौँ’, बानियाँले भने । उनले फिल्मको बारेमा फरक वर्गका दर्शक माँझ सूचना पुगेकोमा विश्वस्त रहेको बताए । उनी फिल्म हेर्न आइपुग्ने दर्शकले मनोरन्जनसँगै केही संदेश समेत पाउने बताए ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।












