‘समाजको नभनिएको कथा हो, अगस्त्य’ : निर्देशक चौधरी

फिल्म । आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर १’ का निर्देशक सौरभ चौधरीले फिल्ममार्फत समाजमा रहेको तर नभनिएको कथालाई पर्दामा ल्याएको बताए । रिलिज नजिकिएसँगै प्रचारप्रसारलाई आक्रामक बनाइरहेका निर्देशक चौधरीले आफूले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताए ।

‘दुई घटनालाई मर्ज गरेर स्क्रिप्टको कन्सेप्ट आएको थियो । यो फिल्म दर्शकका लागि सिनेमाटिक छ, उहाँहरुले अहिलेसम्म समाजमा नभनिएका कथा हाम्रो फिल्ममा पाउनुहुनेछ’, निर्देशक चौधरीले भने, ‘यो फिल्म हेरिसकेपछि जोकोहीले पनि आफ्नो जीवनसँग जोड्न सक्छन् ।’ उनले यसको कथा र दृश्य अन्य विदेशी फिल्मसँग प्रभावित नभएको समेत दावी गरे ।

अभिनेता सौगात मल्लले फिल्ममा मानसिक रूपमा आफू तनावमा रहेको समयलाई अनुभूत गरेर क्यारेक्टर निर्माण र अभिनय गरेको बताए । ‘म आफैँ पनि झण्डै-झण्डै त्यस्तै अवस्थाको नजिक पुगेर फर्किएको धेरैलाई थाहै छ । त्यसलाई पनि मैले फिल गरेको थिएँ,’ उनले भने, ‘त्यस्तो चरित्र निर्वाह गर्न शारीरिकभन्दा पनि मानसिक रूपमा गरिने काम अफ्ठ्यारो हुन्छ ।’

अधिकांश फिल्ममा रोम-कमको भूमिकामा देखिएका अभिनेता नाजिर हुसेनले लामो समयपछि आफूले फरक र राम्रो चरित्रमा काम गर्न पाएको बताए । उनले आफूले फिल्ममा फरक-फरक इमोसनमा काम गरेकाले हरेक कलाकारको एउटा रहरलाई ‘अगस्त्यः च्याप्टर १’मा पुरा गरेको बताए ।

निर्देशक चौधरीले यसको निर्माण दुई भागमा गरिएको जानकारी दिए । ‘हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको शीर्षकमै रहेर कथालाई तयार गरिएको छ । यसले मनोरञ्जनसँगै हाम्रो समाजमा घटिरहेको घटनालाई देखाइनेछ’, निर्देशक चौधरीले भने । फिल्ममा प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महतलगायतका कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्