सकियो ‘भूठान’को छायांकन

फिल्म । सन् २०१९ मा पहिलो फिल्म‘बुलबुल’ निर्देशन गरेर नेपाल सरकारले प्रदानगर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका निर्देशक विनोद पौडेलको निर्देशनमा तयार भएको दोस्रो फिल्म ‘भूठान’ को छायांकन सकिएको छ । अंग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नाम रहेको फिल्ममा हरिवंश आचार्य, दयाहाङ राई, ऋचा घिमिरे, पूजा चन्द, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्य, जोयश पाण्डे, विमल सुवेदी, अनुराधा मजुमदार र हलिउड कलाकार ब्रुस डन लगायतको अभिनय छ ।

भुटानदेखि भारत,नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवनयात्राको कथा समेटेर तयार गरिएको फिल्म बुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा समेत छानिएको थियो । निर्माता अविरल थापाले यो फिल्म विश्व बजारको लागि बनाउन लागिएको र अन्तर्राष्ट्रिय भिडमा अलग्गै पहिचान कायम गर्नेमा आफू विश्वस्त रहेको बताए । कार्यकारी निर्माता एल. एन अधिकारी र अर्का निर्माता अमिताभ जोशीका अनुसार विश्वभरिका सम्पूर्ण प्लेटफर्महरुमा र सिनेमा हलहरुमा हलिउडकै वितरकको संग्लग्नतामा यसलाई प्रदर्शन गरिने बताए ।

फिल्मलाई हलिउडका मान्यता र मापदण्डमा रहेर निर्माण गरिएको निर्देशक पौडेलको दाबी छ । उनले, यो नेपालका लागि पहिलो युनियन फिल्म हुने बताए । यो फिल्मको कथालाई विश्वले नै आत्मसात गर्ने भएकाले यो फिल्ममार्फत विश्व बजारमा आफ्नो पहुँच बनाउन कुरामा निर्देशक पौडेल विश्वस्त देखिएका छन् ।

म्याड मंकी फिल्मस्ले निर्माण गरेको यो फिल्ममा हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेन्मेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सनले निर्माणमा सहकार्य गरेका छन् । यो फिल्ममा कौशिला खनाल कर्मचार्य, एल.एन अधिकारी, अपार श्रेष्ठ, रमेश भट्ट कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापाको लगानी छ । यो फिल्मलाई सन् २०२४ मै दर्शकमाझ ल्याउने तयारी भइरहेको निर्माणपक्षले बताएको छ ।

कमेन्ट गर्नुहोस्