फिल्म । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर सिनेमा ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले सिनेमा पारिवारिक कथामा आधारित रहेको देखाएको हो । झण्डै २ मिनेट ३५ सेकेण्ड लामो ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उनकी श्रीमती र परिवारले उनको दोश्रो विवाह गर्ने कुरा गरेपछिको उत्पन्न परिस्थितिलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।
यसका अलावा आफ्नो कमजोरी लुकाउन दोश्रो विवाह टार्दै आएका दयामाथि अर्को एक युवतीले आफ्नो सन्तानको बाबु भएको आरोप लगाएको प्रसंगलाई ट्रेलरमा देखाइएको छ । यी दुई घटनाक्रमको उतारचढाव नै सिनेमाको कथा भएको ट्रेलरबाट बुझ्न सकिन्छ ।
ट्रेलरले सिनेमा सिचुयसनल कमेडीले भरपुर रहेको संकेत गर्दै सिनेमाले दर्शकलाई पूर्ण मनोरञ्जन दिने आशा देखाएको छ । माओत्से गुरुङको डेब्यू निर्देशन रहेको सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।











