फिल्म । नेपाली चलचित्र ‘११ः५५’ को छायांकन सुरू भएको छ । केशब पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रज लगायतको अभिनय रहनेछ । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको चलचित्र क्राइम, थ्रिलर विधामा निर्माण हुने बताईएको छ ।
विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह निर्माता रहेका छन् । विगत एक दशकदेखि चलचित्रलाई नजिकबाट हेरेर राम्रो दर्शक बनेका निर्देशक पाण्डेले योजना अनुरुप नै छायांकन भईरहेको जानकारी दिए ।
यसै चलचित्रमार्फत पर्दामा डेब्यु गर्न लागेका अभिनेता सगार खनालले चलचित्र सम्बन्धी गरेको अध्यनलाई प्रयोग गर्ने अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्ने बताए । ‘यो मेरो डेब्यु चलचित्र भएता पनि सबैको भूमिका बराबर छ । पहिलोपटक पर्दामा देखिदा नै अभिनयमा पोख्त टिमसँग सहकार्य गर्न पाउँदा र उस्तै भूमिका पाउँदा उत्साहित छु’, अभिनेता खनालले भने ।
चलचित्रमा प्रद्युमन मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायदको कार्कीको मुख्य सहायक निर्देशन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन रहनेछ ।
चलचित्र ‘११ः५५’ मा ६ जनाको कथा देखाईएको छ । आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स–साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति चलचित्रमा देखाईने छ । ३५ दिनको सेड्युल तय गरेर यसको छायांकन शनिवार राती ११:५५ बजेबात सुरू गरिएको हो ।










