आर्टमान्डूले ल्यायो ‘पञ्चमी मेला’

सङ्गीत । आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक भएको छ । गाउँ वा सहरका साँस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा भनेको छ । निर्देशक नवीन चौहानले पहिलोपटक घुमेको मेला र साथी बनाएको पञ्चमी मेलालाई कथा बनाउँन पाउँदा खुसी लागेको बताए ।

‘तिथिमा लाग्ने यो बजारमा भेट भएका कति युवायुवतीको विवाह भएर घरजम नै भएको छ। बिडम्बना अहिलेयो बजार धेरै उजाडिएको छ’, नवीन भन्छन् । करिब ८ मिनेटको म्युजिकल फिल्ममा पञ्चमी बजारमा पाँचथरका युवक र सिमी बेच्न आएकी इलामकी युवतीको भेट हुन्छ । भेटमा युवतीसँग आकर्षित भएका युवक छोरी माग्न घरसम्म पुग्छन् । दुईबीचको प्रेममार्फत् भिडिओमा बजारको सौन्दर्य र पूर्वको स्वाद पस्किएको छ ।

गीतमा गायिका अञ्जु पन्त र गायक भुषण खतिवडाले स्वर दिएका छन्। गीतकार हर्क साउदले शब्द कोरेको गीतमा भुषणकै कम्पोजिसन छ । भिडिओमा मिलन खत्री, चन्दा ढुंगाना, अन्वेश थुलुङ राई, ओम कार्की, नरेन्द्र बस्नेत, केदीप बस्नेत लगायतको अभिनय छ। भिडिओलाई योगेश ढकालले खिचेका छन् । भिडिओलाई नवीन र केर कोइँच लिनुचले निर्देशन गरेका छन् । यसअघि आर्टमान्डूका पाहुना हजुर, फूलथुंगे रानी, तीनपाते, घुमीघुमी, चन्द्रमा, के माया लाग्छ र लगायत अधिकांश भिडिओ लोकप्रिय छन् ।

कमेन्ट गर्नुहोस्