सङ्गीत । लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत हुने भएकी छिन् । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘तीर्थकुमारी स्वर्णीम साँझ २०८०’ हुने जानकारी गराईयो । अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजनामा हुने कार्यक्रममा उनल आफ्ना पुराना गीतहरू प्रस्तुत गर्नेछिन् । ‘मेरो गीतहरू पुनः गाउने अवसर पाउँदा निकै उत्साहित छु । मेरो यो ईच्छालाई पुरा गर्न सहयोगी भूमिका खेल्नु हुने सम्पूर्ण प्रति आभारी छु’, गायिका थापाले भनिन् । उनले प्रत्यक्ष दुई दर्जन भन्दा बढी एकल र युगल गीत गाउनेछिन् । त्यसका लागि उनी निरन्तर प्रयासमा छिन् ।
गायिका थापाको छोरा तथा सङ्गीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिनुभयो । ‘आमाको सपना थियो, यसलाई पुरा गर्न पाउँदाको खुशी शब्दमा व्यक्त गर्न सक्दिन । हामीले युगल गायनमा आमासँग गाउन सक्ने पुराना गायक नै प्रस्तुत गर्नेछौँ । बाँकी केहीमा मैले पनि साथ दिनेछु’, गायक थापाले भन्नुभयो ।
काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्ट्रक्सनको सह आयोजनामा कार्यक्रम आउँदो मङ्सिर ८ गते राष्ट्रिय नाँचघर जमलमा हुनेछ । एक हजार भन्दा बढी गीतमा आफ्नो स्वर दिनुभएकी गायिका थापाले गाउनु भएको ‘म त खादिन कुवाँको पानी हो’, ‘ढुङ्गे बगर माया’,‘झम्के फूली नाकैमा बुलाकी’,‘उकालीमा पनि हजुर मोटर जादो रैछ’,‘बारीको डिलमा ओखरबोट’,‘माछी मार न हे दाई हो’ लगायतका गीत अझैँ पनि उत्तिकै लोकप्रिय छन् । कार्यक्रममा प्रवेशका लागि एक हजार, पन्ध्र सय र दुई हजार रुपैयाँको टिकेट राखिएको छ ।