‘दिमाग खराब’ ट्रेलरमा के छ ?

फिल्म । निर्देशक निश्चल बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘दिमाग खराब’ को ट्रेलर सार्वजनिक गरिएको छ । एक भूईमान्छे कसरी देशमा नियमकानुनका बाबजुत मुठ्ठीभरका भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने विषयको नेपथ्यमा उसले सोका विरुद्ध गर्ने संघर्षको कथा पेस गर्ने फिल्मको सार्वजनिक ट्रेलरले दर्शकको ध्यान तान्न सफल भएको छ । आफ्नै गृहनगरको मेयर संलग्न रहेको म्यानपावरले भिजिट भिषामा दुबई पठाउन जान खाली खुट्टा नै एयरपोर्ट पुगेका पात्र जसमा खगेन्द्र लामिछानेले अभिनय गरेका छन् । उनी विदेश नगई घर फर्किन बाध्य हुन्छन् । ती पात्रले मेयरले फोन गर्दिएमा आफू विदेश जान पाउने थाहा पाएपछि मेयरको पछि लाग्छन् तर निरन्तरको प्रयासपछि मेयरले नजिकै आएको चुनावमा सय भोटको ग्यारेन्टी गराइदिए फोन गर्दिने आश्वासन दिन्छन् ।

सोही सय भोटको गोलचक्करका क्रममा मेयर संलग्न म्यानपावरले लगाइदिएको गलत भिषाका कारण आफू विदेश जान नपाएको थापा पाएपछि ती पात्रमा परिवर्तन आउँछ । यसैक्रममा समाज र राजनीतिसँग जोडिएका विभिन्न पात्रलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरले मेयरको मुकुण्डो उत्रिएपछि ती पात्रले के गर्लान भन्ने प्रश्नहरु छोडेर टुङ्ग्याएको छ । ट्रेलरको अन्तिम दृश्य निर्देशक निश्चललाई पनि बाइक र्यालीको लिडरका रुपमा देखाइएको छ । सो दृश्यले उनी पनि विशेष भूमिकामा रहेको देखाएको छ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । तिहारको अवसर पारेर आगामी कात्तिक २४ गतेबाट प्रदर्शनमा आउने सिनेमामा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्