फिल्मकर्मीले लेखे,‘सेन्सर सिफारिस नदिनु गलत भईरहेछ’

फिल्म । प्रदर्शनको नजिक आएर नामकै कारण विवादमा रहेको फिल्म ‘एक भगवत् गीता’लाई रोक लगाउन नहुने आवाज फिल्मकर्मीले उठाएका छन् । हिन्दू धर्मको पवित्र ग्रन्थमध्ये एक ‘श्रीमद् भागवद् गीता’ को नाम विनाकारण प्रयोग गरिएको भन्दै हिन्दु जागरण नेपालले नाम परिवर्तन नगरी पदर्शन हुन् नदिन सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डमा लिखित निवेदन दिएकाले फिल्मको जाँचपास हुन् सकेको छैन । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले हेरेर पास नगर्दासम्म यसले सार्वजनिक प्रदर्शन पाउदैन ।

यद्यपि सेन्सर बोर्ड नपुग्दै विकास बोर्डमै फिल्म रोकिनु दुखद रहेको भन्दै फिल्मकर्मीले विरोध गरेका छन् । नेपाल चलचित्र संघका पूर्व अध्यक्ष तथा राजनीतिज्ञ प्रदीपकुमार उदयले बोर्ड अध्यक्ष भुवन केसीलाई खुल्ला पत्र लेख्दै फिल्मको हितमा काम गर्न आग्रह गरेका छन् । उनले बोर्डले नै निर्माण गर्न इजाजत दिएको फिल्म विनाकारण रोक्दा गलत संदेश प्रवाह भईरहेको भन्दै ध्यानाकर्षणसमेत गराएका छन् ।

‘फिल्म निर्माण गर्दाको चुनौती र समस्यासँगै प्रदर्शन हुने समयको परिस्थितिबारे बोर्ड अध्यक्ष नै जानकार हुनुहुन्छ । प्रदर्शनका लागि साता बाँकी रहदा निकालिएको विवाद सान्दर्भिक छैन’, उदयले भने,’बोर्ड अध्यक्षले सेन्सरलाई छाड्ने काम आफैँले गर्ने होइन । समय बाँकी छ, फिल्मकर्मीको आवाज बन्नुस् ।’ उनले केसी बोर्ड अध्यक्ष भएपछि फिल्मकर्मीलाई नत सहायता गर्न सकेको नत दर्शकलाई मनोरंजन दिन फिल्मनै निर्माण गर्न सकेको भन्दै आलोचनासमेत गरेका छन् ।

निर्माता तथा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत फिल्मको प्रदर्शन रोक्नु जायज नभएको उल्लेख गरेका छन् । फिल्मकी निर्देशक झरना थापाको परिवार नै श्रीकृष्णको ठूलो भक्त रहेकाले फिल्ममा धर्मको खिल्ली उडाए भनेर पत्याउन नसकिने उनको बुझाइ छ ।‘फिल्म रोकेर कसैलाई फाईदा छैन । र, रोक्ने अधिकार बोर्डलाई कदापी छैन । किनकि सम्पूर्ण प्रक्रिया पुर्याएर सेन्सर सिफारिस माग्न गइएको बुझेको छु’, गिरीले भनेका छन् । कलाकार निर्मल शर्माले फिल्म क्षेत्रलाई जीवित राख्न समर्पित र मिहिनेती निर्मातालाई बचाउनु पहिलो धर्म हुने बताएका छन् ।

निर्देशक सुजीत विडारीले भने सेन्सर बोर्ड र चलचित्र विकास बोर्ड नै खारेजीको माग गरेका छन् । उनले लेखेका छन्,‘यो सेन्सर बोर्ड र चलचित्र विकास बोर्ड खारेज गरिदिउँ । आ-आफ्नै संघ-संगठनले सेन्सर गर्ने भएपछि यिनको के काम ? राजनैतिक फिल्म बनाए सर्वदलिय समिति बनाएर सेन्सर गरौं, पारिवारिक चलचित्र बनाए नेपाल परिवार दललाई सेन्सर गर्न दिउँ, साइन्स फिक्शन फिल्म बनाए नाष्टलाई सेन्सर गर्न दिउँ । विधि-विधान, नीति-नियम नमान्ने थिती बसालेर हामी फेरि ढुङ्गे युगमा फर्कन खोजेको हो ? ‘कमन सेन्स’ छ कि छैन ?’

समीक्षक यज्ञश, निर्देशकहरु प्रदीप भट्टराई, जनकदीप पराजुली, डब्बु क्षेत्रीलगायतले पनि ‘एक भगवत् गीता’लाई बोर्डले सेन्सर सिफारिस नदिएकोमा विरोध जनाएका छन् ।

कमेन्ट गर्नुहोस्