‘ऐँचो पैँचो’ को सुखद सुरुआत

फिल्म । जनैपूर्णिमाको अवसर पारेर बिहीबारबाट प्रदर्शन भएको सिनेमा ‘ऐँचो पैँचो’ले सुखद् सुरुवात गरेको छ । निर्माण टिमका अनुसार सिनेमाको बिहानी शोमा ३० प्रतिशत ओपनिङ भएपनि दिउँसो २ पछिको शोमा भने ८० प्रतिशत आसपासको अकुपेन्सी छ ।

निर्देशक कृषा चौलागाईले जनैपूर्णिमाका कारण बिहानी शो केही कमजोर देखिएपनि दिउँसोबाट दर्शकको संख्या वढेको जानकारी दिईन् । अभिनेत्री स्वस्तिमा खड्का र बर्षा राउतले पनि दिउँसोको शोमा प्रतिक्रिया लिन हल पुगेका थिए ।

निर्देशक चौलागाईले एफक्युब, क्युएफएक्स लबिम, सिभिल र भक्तपुर पुगेर दर्शक प्रतिक्रिया लिएको बताइन् । हामीलाई सिनेमा हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । भोली शुक्रबार र पर्सी शनिबार बिदा भएकाले पनि दर्शक सङ्ख्या अझै बढ्ने विश्वास व्यक्त गरिन् । बिहीबार निर्माता विशाल चौलागाई, अभिनेत्री स्वस्तिमा र बर्षा, अभिनेता कोशिस क्षेत्री र सुशिल सिटौला विभिन्न राजधानीमा हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका थिए ।

यस्तै, वितरक रोहीत कट्टेल र रत्न श्रेष्ठ सिनेमाले राम्रो ओपनिङ गरेको जानकारी दिए । वितरक कट्टेलले सिनेमाले शुक्रबार र शनिबारका लागि धेरै ठाउँमा शोहरु थपिएको बताए । उनका अनुसार दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भएमा शनिवार फिल्मको व्यापार उल्लेख्य हुनेछ ।

‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐँचो पैँचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ । पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

तस्वीर : ज्ञानु राई

कमेन्ट गर्नुहोस्