घोषणासँगै ‘महाजात्रा’ रिलिज तय

फिल्म । ‘जात्रा’ को तेस्रो सिरिजको रुपमा ‘महाजात्रा’ घोषणा गरिएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि बन्ने तेस्रो सिरिजमा कलाकार हरिवंश आचार्य थपिएका छन् । निर्माण कम्पनि षटकोण आर्ट्सले ‘महाजात्रा’ घोषणा गर्दै यसको प्रदर्शन चैत्र ९ गते हुने घोषणा गरेको छ । निर्माता रवीन्द्रसिंह बानियाँले अभिनेता आचार्यको आगमनसँगै महा जात्रा हुने बताए ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रको छायांकन दसैँ लगत्तै हुने निर्देशक भट्टराईले जानकारी दिए । छायांकन अगावै चलचित्रको नेपाल र भारतबाहेकको प्रदर्शन अधिकार एमएसएनजा छत्र थापाले खरिद गरिसकेका छन् ।

‘हामीले नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन गर्नुपर्ने भएकाले पनि सो प्रदर्शन मिति तय गरेका हौँ । यसै चलचित्रमार्फत मैले निर्देशन यात्रा प्रारम्भ गरेको थिएँ । यसैले गर्दा यो सिरिज मेरो लागि खास छ’, निर्देशक भट्टराईले भने । चलचित्रलाई दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नेछन् ।

कमेन्ट गर्नुहोस्