ओटीटीमा ‘महापुरुष’

फिल्म । सुपरहिट भएको नेपाली चलचित्र ‘महापुरुष’ शुक्रवारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाघर र चलचित्र टीमले यसबारेमा जानकारी गराएको छ । प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्रलाई २ सय रुपैयाँ तिरेर हेर्न सकिनेछ ।

सिनेमाघरका अध्यक्ष खगेन्द्र लामिछानेले ‘महापुरुष’लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्नेमा विश्वास व्यक्त गरे । उनले सिनेमाघरमा दर्शकले देखाएको चासोबाट उत्साहित रहेको बताए । लामिछानेले यूट्युबमा सित्तैमा चलचित्र हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर चलचित्र हेर्ने बानीको विकास भइरहेको बताए ।

महापुरुषका अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठुलो सङ्ख्यामा दर्शकहरू रहेको बताए । पहिलो पटक ओटीटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकोमा खुसी व्यक्त गरे । पत्रकार सम्मेलनमा ‘महापुरुष’का अन्य प्रमुख कलाकारहरू राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा निर्माता म्याक्स दिपेश खत्री लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्