बेलायतका प्रधानमन्त्रीले दिए ‘गोर्खा वारियर’ लाई शुभकामना

फिल्म । बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाली फिल्म ‘गोर्खा वारियर’लाई पत्र लेख्दै सफलताको शुभकामना दिएका छन् । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटको तर्फबाट १७ अगस्टमा सांस्कृतिक मामिलामन्त्री डेनिम गोलिङलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले उक्त पत्र लेखेका हुन् ।

गत जुलाई २० मा निर्माता र निर्देशक मिलन चाम्सले सांस्कृतिक मामिलामन्त्री गोलिङमार्फत प्रधानमन्त्रीलाई प्रिमियर समारोहमा उपस्थित हुन निम्तो दिँदै पत्र लेखेका थिए । उक्त पत्रको जवाफमा प्रधानमन्त्री सुनकले आफू कार्यव्यस्तताको कारण प्रिमियर समारोहमा उपस्थित हुन नसक्ने जवाफ समेत दिएका थिए ।

‘बहादुर गोर्खा सैनिकबारे वीरता, त्याग र समर्पणबारे बनेको यो फिल्मबारे थाहा पाउँदा म हर्षित छु । निम्तोका लागि हार्दिक धन्यवाद । दुर्भाग्यवश, कार्यव्यस्तताको कारण म प्रिमियर समारोहमा उपस्थित हुन असमर्थ छु । यद्यपि, प्रिमियर र फिल्म सफलताको शुभकामना दिन चाहन्छु । पत्रको लागि धन्यवाद’, प्रधानमन्त्री सुनकले लेखेका छन् ।

गोर्खाली विषयलाई प्रधानमन्त्रीले दिएको शुभकामनाले सम्पूर्ण नेपाली फिल्मकै शिर उच्च गरेको निर्माता तथा निर्देशक चाम्सले बताए । उनले भने,’यो सम्पूर्ण नेपाली फिल्मकै लागि गौरवको विषय हो । सम्पूर्ण विश्वलाई नेपाली फिल्मको बारेमा जानकारी भएको छ । गोर्खालीको विषयलाई दिएको सम्मान प्रति हामी गौरवान्वित छौं ।’ गोर्खालीको वीरतालाई आउँदो भदौ २४ मा विश्वलाई बुझाउन बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा विशेष प्रदर्शनी (वर्ल्ड प्रिमियर) गर्न लागिएको जानकारी दिए ।

युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । आयोजित विशेष प्रदर्शनीमा नेपाली सेनाका उच्च पदस्थ व्यक्तित्वसँगै सशस्त्र प्रहरी बलका पुर्व महानिरीक्षक दुर्ज कुमार राई, निर्माता सुमन राई, लेखक तथा सहायक निर्देशक गिरिराज घिमिरे, सम्पादक मिलन श्रेष्ठको, छायांकन निर्देशक सुदीप बराल, द्वन्द्व निर्देशक हिमाल केसी, सञ्चारकर्मी नरेश भट्टराई लगायत उपस्थित थिए ।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् ।

कमेन्ट गर्नुहोस्