देश । भारत मध्य प्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) द्वारा भदौ २ देखि ४ गतेसम्म नेपालको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन हुने भएको छ । बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धीरेन्द्र अध्यात्मिक गुरुका रुपमा परिचित हुनुहुन्छ ।
चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वतधाम नेपालका अतिरिक्त भारतीय हिन्दू धर्मावलम्वीहरुको आस्थाको केन्द्र बनेको छ । बागेश्वरधाम सरकारले सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश दिदै पुण्यभूमि नेपालस्थित सनातन धर्मको सर्वाधिक आस्थाको केन्द्रका रुपमा विकसित शाश्वतधाममा हनुमन्त कथा प्रवचनको अवसरलाई यस क्षेत्रका समस्त सनातन धर्मप्रति आस्थावान भक्तजनहरूले उपयोग गर्नुहुन आग्रह गर्नु भएको छ ।
चौधरी ग्रुप एवं सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीको विशेष निमन्त्रणामा बागेश्वर धाम सरकारको शाश्वतधाम कथा वाचन यात्रा तय भएको हो ।
हिन्दूहरूको तीर्थस्थल एवं शिक्षाको केन्द्रको रुपमा भारतको मध्य प्रदेशमा बागेश्वरधामको स्थापना गर्ने सरकार प्रख्यात लेखक समेत हुनुहुन्छ । उहाँले हिन्दू दर्शन र आध्यात्मिकता सम्बन्धी धेरै पुस्तकहरू लेख्नु भएको छ । साथै, सनातन धर्म प्रवर्धनका लागि आयोजना गरिने धार्मिक सम्मेलन र कार्यक्रममा सरकार नियमित कथा वाचक एवं धार्मिक वक्ताका रुपमा सहभागी हुदै आउनु भएको छ । उहाँ आफ्नो सरल र प्रत्यक्ष संचार शैलीका लागि भक्तजनहरूकावीच लोकप्रिय हुनुहुन्छ ।
विश्वभर लाखौँ अनुयायीहरु रहेका तथा नेपालमा पनि विशेषगरी युवाहरुकामाझ लोकप्रिय बागेश्वर धाम सरकार शाश्वतधाममा कथा वाचनका लागि प्रस्थान गर्नुअघि भदौ १ गते काठमाडौंमा आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । सोही दिन सन्ध्यामा उहाँ पशुपतिनाथको आरतिमा आफ्ना अनुयायीहरुका साथ सहभागि भई मन्तव्य दिने कार्यक्रम पनि रहेको छ । तत्पश्चातका तीन दिन भदौ २, ३ र ४ गते नवलपुरस्थित शाश्वतधाममा आयोजना हुने हनुमन्त कथा प्रवचनमा उहाँलाई श्रवण गर्न सकिनेछ ।







