तीन गीतमा किरण

संगीत । ‘रात मकै’ को उपनामले परिचित हास्यकलाकार किरण केसीले एकसाथ तीन गीतको भिडिओ तयार गर्नुभएको छ । काठमाडौंमा एक समारोहको आयोजना गर्दै उहाँले नेपाल भाषाको छन्त खं सँ र नेपाली भाषाको होला होला भन्दै र ए रात बोलको तीन गीतको भिडिओ प्रदर्शन गर्नुभयो । तीन गीत मध्ये दुईमा केसी गायक हुनुहुन्छ भने एकमा अभिनय मात्र गर्नुहएको छ । यद्यपि इन्टरनेटमा ती भिडिओ क्रमशः सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

“गीतको अडियो तयार भएको लामो समयपछि भिडिओ बनेको छ । एकसाथ तीन भिडिओ तयार भएको हुँदा कार्यक्रम नै गरेर देखाएको हुँ । मैले सक्दो मेहनत गरेर गीत तयार गरेको छु”,हास्य कलाकार केसीले भन्नुभयो,“गायन मेरो प्राथमिकतामा पर्छ । मेरो रूचीलाई बुझेर मलाई धेरैले गीत उपहार दिनुभएको छ। त्यो मेरो लागि अमुल्य उपहार हो ।” उहाँले नेपाल भाषाको गीत गाउँदा केही कठिनाई भएता पनि मेहनतले सम्भव भएको प्रतिक्रिया दिनुभयो ।

कार्यक्रममा उपस्थित हास्यकलाकार मदनकृष्ण श्रेष्ठले हास्यकलाकार केसीलाई विभिन्न प्रतिभा भएको व्यक्तिको रूपमा चिनेको बताउनुभयो । “किरणले अभिनय गर्ने, गाउने, लेख्ने लगायतका विविध विधामा आफूलाई अब्बल सावित गरिरहनु भएको छ । उहाँको सक्रियताले मलाई उर्जा प्राप्त हुन्छ । उहाँले हुन्न भन्ने गरेको छ जस्तो लाग्दैन्”,हास्यकलाकार श्रेष्ठले भन्नुभयो । उहाँको शब्द र सङ्गीतमा होला होला भन्दै र नेपाल भाषाको गीत छन्त खं सँ तयार भएको हो ।

अर्का हास्यकलाकार हरिवंश आचार्यले गायनमा रहर मात्र नभई मेहनत नै देखिएको बताउनुभयो। “कुनै पनि विधा सजिलो हुदैन । गायनमा झनै अभ्यास चाहिन्छ । किरणजीले आफूलाई यो लायक बनाउन निकै मेहनत गर्नुभएको छ । म उहाँसँग सुरुवाती समयदेखि नै सहकार्य गरिरहेको छु”,हास्यकलाकार आचार्यले भन्नुभयो ।

कार्यक्रममा हास्यकलाकार केदार घिमिरे, दीपाश्री निरौला, अभिनेत्री शर्मिला मल्ल, अभिनेता दीलिप रायमाझी, निर्देशक सुदन केसी लगायत उपस्थित हुनुहुन्थ्यो । हास्यकलाकार केसीका अनुसार दोस्रो गीत जेठ १५ र तेस्रो गीत असार १५ मा सार्वजनिक हुनेछ ।

कमेन्ट गर्नुहोस्