पहिलो विकेन्डपछि हलबाट उत्रियो ‘कैदीको पत्र’

फिल्म। गत शुक्रबारबाट प्रदर्शनमा आएका तीन फिल्म ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ सँगै ‘जारी’ प्रदर्शनरत छ। पहिलो विकेन्डमा रहेका फिल्मको तुलनामा तेस्रो विकेन्डमा रहेको ‘जारी’ कै अकुपेन्सी माथी छ। अर्थात् अन्यको तुलनामा समीक्षासँगै बक्सअफिसमा ‘जारी’ अब्बल देखिएको छ। पहिलो विकेन्ड पार गर्दै गर्दा फिल्म ‘कैदीको पत्र’ ले न्यून व्यापार गरेको छ।

बेलायत निवासी सनमकुमार बैरागले साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा फिल्म निर्माण तथा निर्देशन गरेका थिए। फिल्मले नत राम्रो प्रतिक्रिया नै पायो नत दर्शक नै। शुक्रबार ‘विशेष सो’ को आयोजना गरेको फिल्मको कुल व्यापार दुई दिनमा एक लाखसमेत नरहेको विवरण चलचित्र विकास बोर्डको बक्स अफिस प्रणालीमा छ। त्यहिँ कारण यो फिल्म लगभग हलबाट उत्रिएको छ।

ब्राण्ड भ्यालु बोकेको ‘नाइ नभन्नु ल ६’ को दुईदिने कमाइ पन्ध्र लाख रुपैयाँ हाराहारी रहेको बोर्डको बक्स अफिस तथ्यांकमा देखिन्छ । यो कमाइ ‘नाइँ नभन्नु ल’ सिरिजकै सबैभन्दा न्यून ओपनिङ हो । कमजोर वर्ड अफ माउथको प्रभाव फिल्मको ओपनिङमा स्पष्ट देखिएको छ ।यस्तै, ‘प्रसाद २’ को दुईदिने कमाइ तीस लाख रुपैयाँ हाराहारीमा छ । शनिबार अपरान्हपछि लगातार वर्षा हुँदा फिल्मको शो प्रभावित भएको देखिन्छ । पहिलो विकेन्ड पार गरिरहेका तीन फिल्मको तुलनामा दोब्बर बढी अकुपेन्सीका साथ ‘जारी’ प्रदर्शन भईरहेको छ। यसले दश करोड बढीको ग्रस कलेक्सनसमेत गरिसकेको छ।

कमेन्ट गर्नुहोस्