फिल्म। ‘कबड्डी’ समूहको निर्माण रहेको फिल्म ‘जारी’ ले बम्पर सुरूवात गरेको छ। नयाँवर्षको समयलाई सदुपयोग गर्दै प्रदर्शनमा आएको चलचित्रले दुई दिनमा चार करोड पचास लाखको आसपासमा ग्रस कलेक्सन गरेको छ। पहिलो दिन नै दुई करोड बढीको ग्रस कलेक्सन गरेको फिल्मको दोस्रो दिन पनि शत प्रतिशत अकुपेन्सी रहेको छ।
उपेन्द्र सुब्बा निर्देशितले आक्रामक व्यापार गरिरेको छ नै साथै दर्शक प्रतिक्रिया पनि सकारात्मक छ। समीक्षकहरुले समेत फिल्मको तारिफ गरेका छन् ।फिल्मले लिम्बू संस्कारमा रहेको जारी प्रथालाई मियो बनाएर श्रीमान्-श्रीमतीबीचको सुन्दर प्रेमकथा बुनेको छ । फिल्मको पटकथा र संवाद सशक्त छ । ‘कबड्डी’ सिरिज र ‘फूलबारी’बाट लेखनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका उपेन्द्र सुब्बाले ‘जारी’बाट निर्देशनमा पनि राम्रो सम्भावना देखाएका छन् । उनले लिम्बू समुदायको परम्परा, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषालाई कथामा गाँसेर सानदार ढंगले प्रस्तुत गरेका छन् । पटकथा बलियो भएकाले फिल्म बहकिएको छैन । केही दृश्य लामा भने अवश्य छन् तर पट्यारलाग्दा छैनन् ।
‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापोलगायतको पनि अभिनय छ ।












