सङ्गीत। ‘मंगोलियन हार्ट’ले एकदशकपछि अष्ट्रेलियामा कन्सर्ट गर्ने भएको छ। यहिँ अप्रिल १० तारिखबाट अष्ट्रेलियाको विभिन्न सहरमा ब्याण्डले कन्सर्ट गर्ने गीतारिस्ट तथा म्यानेजर बबी लामाले जानकारी दिए। नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा आठ शहरमा हुने कन्सर्टको लागि ब्याण्ड यहिँ ७ तारिखमा प्रस्थान गर्दैछ।
सन् १९९२ मा स्थापना भएको ब्याण्डले तीसवर्ष पार गरेको उपलक्ष्यमा गर्ने टूरलाई लिएर आफू उत्साहित रहेको गायक राजु लामाले बताए। ‘साङ्गीतिक सम्बन्ध पुनः नवीकरण गर्दैछौं। उत्साहित छु। पुरानासँगै नयाँ गीत प्रस्तुत गर्ने छु’, गायक लामाले भने। अप्रिल १० मा मेलवर्न, १३ मा व्रिसव्रेन, १५ मा सिड्नी, १६ मा क्यानवेरा, २३ मा डार्विन र पर्थ, २९ मा होबर्ट र ३० मा एडिलेडमा कन्सर्ट हुने जानकरी नेपाली टचले दिएको छ।
लोक, स्लो रक, पप मेलोडी सङ्गीतका कारण लोकप्रिय ब्याण्डमा रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन् ।













