मोफसल भ्रमणमा ‘ह्यारी कि प्यारी’

फिल्म । केही समय यता काठमाडौं उपत्यका झैँ मोफसलमा प्रचारप्रसार गर्न फिल्मकर्मी सक्रिय देखिएका छन् । आउँदो माघ २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ह्यारी कि प्यारी’ को मोफसल टुर नेपालगंजदेखि सुरू भएको छ । चितवनमा चलिरहेको महोत्सवसँगै पत्रकार भेटघाट गर्दै अगाडी बढिरहेको मोफसल टुर नेपालभर हुनेछ ।

जीतु नेपाल र सम्राज्ञी आरएल शाहसँगै निर्देशक डा. कपिल रिजाल, कार्यकारी निर्माता सुदीप बराल लगायत ‘मोफसल भ्रमण’ मा छन् । ‘दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै फिल्मको बारेमा जानकारी गराउने उदेश्य हो’, मोफसल भ्रमणमा रहेका कार्यकारी निर्माता बरालले भने । मोफसल भ्रमणमा विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुसमेत सहभागी हुनेछन् ।

कलाकारसँगै दर्शकलाई गायक सपन कुमार राई, सुविन सिंह र गायिका बेनिशा पौडेलले झुमाउनेछन् । पोखरा, बेनी, बुटवल, हेटौंडा, विराटनगर, धरान, इटहरी, दमक, विर्तामोड लगायतका शहरमा फिल्म टिम पुगेर दर्शकसँग भेटघाट गर्नेछन् ।

सम्झौताको विवाहले जीवनमा नित्याउने उतारचढावलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको फिल्म ‘ह्यारी कि प्यारी’ मा निर्देशक रिजालकै कथा तथा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन रहेको छ । यसमा सुदिप बरालको छायांकन निर्देशन, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत, अर्जुन जिसीको सम्पादन रहेको छ ।

बिआर प्रोडक्सनको व्यानरमा डा. भोला रिजालको निर्माण रहेको फिल्ममा कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।

कमेन्ट गर्नुहोस्