फिल्म निर्देशनमा रङ्ग पत्रकार

फिल्म । पत्रकारिता गर्दै निर्माण तथा निर्देशनमा प्रवेश गर्ने रङ्ग पत्रकारको संख्या राम्रै छ । लेखक, गीतकार पनि उत्तिकै छन् । आउँदो वर्ष रङ्ग पत्रकार हुँदै निर्देशक बनेकाहरूको फिल्मको संख्या बढ्ने देखिएको छ । किनकि प्रि–प्रोडक्सनको काममा धेरै फिल्मछन् । समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामाले आफ्नो पाँचौ फिल्म ‘नाङ्गो गाउँ’ घोषणा गरेका छन् । आउँदो चैत्रबाट छायांकन हुने फिल्ममा दयाहाङ राई र मिरुना मगरले अभिनय गर्ने तय भइसकेको छ ।

‘कथाकै काममा छौं । यद्दपि यसैवर्ष छायांकन गरेर आउँदो वर्षको दसैँ अगाडी प्रदर्शन गर्ने लक्ष्य छ’, निर्देशक लामाले भने । ‘एउटा साथी’ निर्देशन गर्दै फिल्म मेकिङ्गमा प्रवेश गरेका लक्ष्मण सुवेदी अनटाइटल फिल्मको तयारीमा छन् । नारीप्रधान फिल्मको लागि मलिका महतलाई अनुबन्धित गरिसकेका छन् ।’फागुनबाट छायांकनमा जाने तयारीमा छौँ । पछिल्लो समय लेखनसँगै निर्देशनमा जुट्दैछु’, निर्देशक सुवेदीले भने । उनको निर्देशनमा बन्ने यो तेस्रो फिल्म हुनेछ ।

रङ्ग पत्रकार सुशील पौडेल लिखित फिल्म ‘प्रसाद २’ अहिले छायांकन भईरहेको छ । माछापुच्छ्रे गाउँपालिकामा छायांकन भईरहेको यो फिल्म ‘प्रसाद’ को सिक्वेल हो । लेखक पौडेल झैँ पत्रकारितासँगै फिल्म लेखनमा सक्रिय सामिप्यराज तिमल्सेना अझै केही समय निर्देशनमा आउने सोचमा छैनन् ।

‘अहिले फिल्म लेखनमै व्यस्त छु । निर्देशनको अफर नआएका होइनन्, यद्दपि अहिले सोच बनाएको छैन’, लेखक तिमल्सेनाले भने । रङ्ग पत्रकार डब्बु क्षेत्री भने पछिल्लो समय म्युजिक भिडियो निर्देशन र गीत रचनामा व्यस्त छन् । अहिले फिल्म निर्देशन गर्ने उहाँको सोच छैन । ‘फिटकिरी’ बाट फिल्म लेखन सुरू गरेका पत्रकार यज्ञश भने फिल्म लेख्दैछन् । उनी लिखित दोस्रो फिल्मलाई निश्चल बस्नेतले निर्देशन गर्ने तयारी गरिरहेका छन् ।

यस्तै, अधकट्टी र सुश्री सम्पति निर्देशन गरिसक्नु भएका पत्रकार सुव्रत आचार्य भने टिभी शोको तयारीमा छन् । फिल्म निर्देशन केही समय थाती राख्दै उनले म्युजिक भिडियो निर्देशनमा सक्रियता बढाएका छन् ।

कमेन्ट गर्नुहोस्