फिल्म । पुष २९ बाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘तिम्रो मेरो साथ’को टिमले मोफसल टूर सम्पन्न भएको छ । पर्यटकीयनगरी पोखराबाट सुरु भएको यात्रा दमकमा गएर समाप्त भयो ।पोखरामा प्रेस भेटघाट र सिनेमा प्रचार गरेपछि टिम चितवन पुगेको थियो । चितवनका क्याम्पस, हल र मलमा दर्शकसँग साक्षात्कार गरेपछि आयोजित पत्रकार सम्मेलनमा शिर्ष गीतपनि सार्वजनिक गरिएको थियो ।
चितवन भ्रमणपछि कलाकार पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दीप क्षेत्री र निर्देशक रमेश एमके पौडेलसहितको टिम हेटौडा पुगेको थियो । स्थानीय सञ्चारकर्मीसँग अन्तरक्रिया गरेपछि सर्लाहीको लालबन्दीमा कन्सर्ट गर्दै इटहरी र दमक पुगेको थियो ।
इटहरीमा सिनेमाको टिमले शहर परिक्रमा गरेको थियो । अटो रिक्सामा सिनेमाको पोस्टर टाँसेर शहरको चक्कर लगाउदा दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको थियो । इटहरीमा पत्रकार भेटघाट गरेपछि टिम दमकतर्फ लागेको थियो । दमकमा प्रेसमिट गरेपछि शनिबार निर्माण पक्ष राजधानी फिरेको छ ।
मोफसल टूरपछि काठमाडौं आइपुगेका निर्देशक पौडेलले मोफसलमा दर्शक र मिडियाको न्यानो साथ पाएको सबै जना सिनेमालाई लिएर उत्साहित रहेको भन्दै खुसि व्यक्त गरे । ‘मोफसलको सफल भ्रमण सकाएर काठमाडौं आइपुगेका छौं । उपत्यका बाहिरका दर्शकसँगआत्मियता साट्न पायौं । उहाँहरु सिनेमालाई लिएर निक्कै उत्साहित हुनुहुन्छ । मिडियाकर्मीबाट पनि राम्रो साथ पायौं । आशा छ दर्शकले हलमा पनि साथ दिनु हुन्छ होला ।’
सिनेमामा पुष्प, साम्राज्ञी र सन्दीपसंगै सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।











