फिल्म । स्वदेशी होस् वा विदेशी चलचित्र हेर्दा पर्दामा देखिने पात्र र डिजाइनको चर्चा हुने गर्छ । तर, नेपथ्य अर्थात् पर्दा पछाडि बसेर काम गर्नेहरुको मिहिनेत कलाकारहरुको भन्दा बढी हुन्छ । चर्चामा नआएता पनि पात्र र फिल्मलाई अब्बल बनाउन मिहिनेत गर्ने मध्ये प्रोडक्सन डिजाइनर पनि एक हुन् । सुटिङस्थलको व्यवस्था गर्ने, कलाकारहरूलाई स्पटसम्म ल्याउने, पुर्याउने, सुटिङ, गीत रेकर्ड, डबिङ गराउने, भान्छा र खानेकुराको व्यवस्था मिलाउने, सुटिङ सेड्युल मिलाउने, निर्मातादेखि निर्देशकसम्म वा सम्पूर्ण कलाकार र प्राविधिक जुटाई व्यवस्थापन गर्नेसम्मको काम प्रोडक्सन डिजाइनरको जिम्मेवारी हुने गर्दछ ।
यही विधालाई कर्म बनाएका छन्, शशांक गौतमले । नेपाली चलचित्रमा प्रोडक्सन डिजाइनरको रुपमा इमानदारीतापूर्वक काम गरेर मेकरहरुको विश्वास जितेका गौतम प्रोडक्सन डिजाइनरलाई युद्धको सिपाहीको संज्ञा दिन्छन् । उनी भन्छन्, ‘युद्धमा गएको सिपाही हरेक परिस्थितिका लागि तयार हुनुपर्छ । प्रोडक्सन डिजाइनरको पेशा पनि यस्तै छ । यहाँ हामी हरेक समयमा तयार रहनुपर्छ ।’
शशांकलाई कला र मनोरञ्जन क्षेत्रप्रतिको आकर्षण सानैदेखिको हो । उनी सम्झन्छन्, ‘बाल्यकालमा मेरो साथी भनेकै टेलिभिजन थियो । पढ्नेबाहेकको समयमा म टेलिभिजनमा आउने चलचित्रहरु हेर्थेँ । हलमा लाग्ने नयाँ चलचित्र हेर्नु मेरो नियमित काम झैं बनेको थियो । त्यसबेलादेखि नै मेरो मानसपटलमा चलचित्र कसरी र कहाँ खिचिन्छ अनि कसरी तयार हुन्छ भन्ने कौतुहलता जागेको थियो ।’
उनलाई विद्यार्थी जीवनमै प्रोडक्सन डिजाइनर बन्ने सौख बढेको थियो । करिब ८ वर्षअघिबाट व्यावसायिक रूपमा चलचित्रमा समर्पित भएका उनले ‘छल’,‘माया बस्छ कि के हो ?’ र ‘थर्ड आई’ लगायतका छोटो चलचित्रहरुमा प्रोडक्सन डिजाइनरको रुपमा काम गरिसकेका छन् । यीमध्ये ‘थर्ड आई’ले विभिन्न राष्ट्रिय अवार्डहरु समेत जितिसकेको शशांक गौतम बताउछन् ।उनले नेपाली मात्र नभइ भोजपुरी चलचित्रहरु ‘प्रेमगीत २’, ‘जय शम्भु’, ‘वन म्यान आर्मी’मा समेत काम गरेका छन् । शशांक प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दा आफूलाई सन्तुष्टि मिल्ने बताउँछन् । र, यही पेशामा आफ्नो जीवन समर्पित गर्ने उनको संकल्प छ ।









