फिल्म । झिलिमिली पर्वको रूपमा परिचित तिहार नजिकिएसँगै यसलाई विषयवस्तु बनाएर तयार गरिएका गीतसंगीतहरू गुन्जिन थालेका छन् । सेलरोटी, सयपत्रीसँगै संगीतले उज्यालो पर्वमा रनौक्ता थप्ने गरेको छ । ढकमक्क फूलेका सयपत्री र सेलरोटीको सुगन्ध झैँ देउसी-भैलो भाका तिहारको विशेषता हो । तिहारलाई लक्षित गरेर सर्जकहरुले थुप्रै गीतहरु रचेका/गाएका छन् । जब यी गीतहरु घन्किन थाल्छन्, तब सप्तरंगी पर्व तिहारको रङ्ग अरु प्रगाढ हुन्छ । नेपालमा वर्षेनी एक सय भन्दा बढी फिल्म प्रदर्शन हुने गरेको छ । तिहार लक्षित गर्दै तीन फिल्म के घर के डेरा, नालापानी र महापुरूष प्रदर्शन हुँदैछन् ।
यी फिल्महरूमा चाड लक्षित गीत छैनन् । तिहारमा बज्ने गीतहरूमा वर्चश्व पुरानै सदाबहारकै छ । दुई दशक भन्दा पुराना गीतसंगीत नै दर्शक तथा श्रोताको प्रिय छन् । फिल्ममा गीतले स्थान नपाउने र एक्ल गायनमार्फत आएका गीत ओझेल पर्ने हुँदा पुरानै फिल्मको तिहार प्रसंग र गीतसंगीत बज्न थालिसकेको छ । ‘दसैँ, तिहार वा अन्य चाडपर्व भएता पनि निर्माता तथा निर्देशक खर्च गर्न नचाहेको संगीतकार अर्जुन पोखरेल बताउनुहुन्छ । “अहिले फिल्ममा चाडपर्वको प्रसंग वा गीत राख्ने गरिएको छैन । छायांकनमा धेरै खर्च हुने र गीत चाडपर्व बाहेक अन्य समयमा कम बज्ने भएकाले लगानी कम भइरहेको छ”, संगीतकार पोखरलेले भन्नुभयो ।
उहाँ समेत तिहारमा पुरानै गीतसंगीतमा रमाउनुहुन्छ । ‘तिहारै आयो लौ झिलिमिली’ गीत गुन्जिन थालिसकेको छ । तिहारमा गाउँदेखि सहरसम्म गुन्जिने यो गीतमा गौरी मल्ल र शिव श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नुभएको छ । यसमा यादव खरेलको शब्द, शम्भुजित बाँस्कोटाको संगीत, लोचन भट्टराई र नुतन प्रधानले स्वर दिनुभएको छ । गीतमा अभिनेत्री मल्लको नृत्य, वसन्त श्रेष्ठको कोरियोग्राफीको चर्चा अहिले पनि हुन्छ । यो फिल्म ‘स्वर्ग’ लाई शम्भु प्रधानले निर्देशन गर्नुभएको थियो ।
‘दियो बाली साँझको’ तिहार सर्वाधिक बज्ने अर्को गीत हो । कुशुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत, गायिका आशा भोस्लेको स्वर रहेको यो गीत ‘चिनो’ फिल्ममा समावेश गरिएको थियो । शुभद्रा अधिकारी, केशव भट्टराई, सुनिल थापा लगायत गीतमा देखिनु भएको छ । फिल्मलाई तुलसी घिमिरेले निर्देशन गर्नुभएको हो । मनिला सोताङले स्वर दिनुभएको फिल्म ‘अन्याय’ को अधरमा आज’ गीत तिहारमा गुन्जिन कम भएको छैन । रत्नशमशेर थापाले लेख्नु भएको गीतमा संगीत रञ्जित गजमेरले दिनुभएको छ ।
उत्तिकै कर्णप्रिय र लोकप्रिय गीत हो ‘निधारमा लर्काएर सप्तरंगी टीका’ । फिल्म ‘विजय पराजय’मा समावेश गीतमा दाजुभाइ र दिदीबहिनीको भाइटीकाको प्रसङ्गलाई देखाइएको छ । अभिनेताद्वय कृष्ण मल्ल र भुवन केसीलाई रूपा राणाले टीका लगाउनु भएको प्रसंग गीतमा छ । दिनेश अधिकारीको शब्द, शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा हेम लताले स्वर दिनुभएको छ ।


अनिल संग्रौला निर्देशित फिल्म ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’ बोलको गीतमा दुई दाजुले बहिनीलाई फकाउँदै गरेको प्रसङ्गलाई देखाइएको छ । श्रीकृष्ण श्रेष्ठ, इन्द्र श्री र निरुता सिंह देखिनुभएको गीतमा रौ शाहले नृत्य निर्देशन गर्नुभएको छ । नयाँ गीतसंगीतले दर्शकको साथ नपाउनुलाई संगीतकार शम्भुजित बाँस्कोटा भावनात्मक सम्बन्ध भन्नुहुन्छ । ‘हामीले त्यो समयमा गरेको काम दर्शकको प्रिय बन्न पुग्यो । उहाँहरूले धेरै समय सुन्नु भएकोले त्यो अझैँ प्रिय भइरहेको छ । फिल्मबाट चाडपर्वको प्रसंग हराएपछि नयाँ गीत बन्न सकिरहेका छैनन्”, संगीतकार बाँस्कोटाले भन्नुभयो ।